भोलिबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को बुधवार राजधानीको कुमारी हलमा भब्य ‘पर्पल कार्पेट प्रिमियर’ सम्पन्न भएको छ l ‘रोयल प्रिमियर’ को नाम दिइएको उक्त प्रिमियरमा करीब ३ सय बढी फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्मका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको प्रिमियरमा अभिनेत्री वर्षा सिवाकोटी लामो पिङ्क गाउन पहिरनमा तथा अभिनेता द्वय पल शाह र नाजिर हुसेन भने सुटमा सजिएका थिए । आफू निर्देशित फिल्मको घोषणादेखि प्रिमियरसम्म तामझामले गर्ने निर्देशक मिलन चाम्सले फिल्मका प्राविधिकहरु लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए l

मिश्रित प्रतिक्रिया बटुलेको फिल्मको प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, शिल्पा मास्के, तेरिया मगर, प्रशान्त ताम्राकार, कुञ्जना घिमिरेलगायतका कलाकारहरुको उपस्थिति थियो । अभिनेता भुवनले कलाकारको अभिनय र निर्देशक चाम्सको निर्देशकिय क्षमताको प्रशंसा गरे । फिल्म हेरुन्जेल आफुलाई रमाइलो भएको उनले बताए l

यस्तै, अर्का अभिनेता शिवले धेरै वर्षपछि उत्कृष्ट फिल्म हेर्न पाएको बताए । अभिनेत्री शिल्पाले फिल्म इन्टरटेनिङ रहेको बताइन् । डान्सर तेरियाले पनि फिल्मको प्रशंसा गरिन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ ।