चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्न लागेको छ । भट्टराई र स्मृतलाई चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो । त्यस्तै, चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

उनीहरुलाई पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ । साथै, संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा आवद्द भएको छोटो समयमा नै फोटो पत्रकारका रुपमा स्थापित पौडेललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ । आगामी जेठ ७ मा हुन गईरहेको २० औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।