८ बैशाख २०७६ युएई : बिषेशत मुस्लिम देशमा हिन्दु मन्दिरको कुरा बिरलै सुन्न पाइन्छ । तर यो अहिले आएर सत्यतामा बदलिएको छ । अब मुस्लिम राष्ट्र यूएईको अबुधाबीमा पहिलो पटक हिन्दु मन्दिरको निर्माण हुने भएको छ ।

बोचासंवासी श्री अक्षर-पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले निर्माण गर्न लागिरहेको उक्त मन्दिरको शिलान्यास समेत गरिएको छ । शिलान्यास कार्यक्रममा उक्त भारतीय संस्थाका अध्यक्ष आध्यात्मिक गुरु महंत स्वामी महाराजले मन्दिरको शिलान्यास गरेका हुन् ।

मन्दिरको शिलान्यास कार्यक्रममा यूएईका सरकारी अधिकारी तथा मन्त्रीहरुको समेत उपस्थिती रहेको थियो । सो मन्दिर निर्माणको अनुमती सन् २०१५ मा नै दिईएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएईको भ्रमण गएको समय सो मन्दिर निर्माणको लागि अनुमती सरकारले दिएको थियो ।

उक्त मन्दिर निर्माणका लागि अबुधाबीका प्रिन्स शेख मोहम्मद बिन जाएद अल नहयनले ठुलो क्षेत्रफलको जमिन दान दिएका हुन् । ५५ हजार बर्ग मिटरमा निर्माण हुन लागिरहेको उक्त मन्दिर निर्माणका लागि राजस्थानको बिषेश गुलाबी पत्थर र मार्बलको प्रयोग हुने अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । आबुधाबीमा हिन्दु मन्दिर बन्ने खबरपछि विश्वभर रहेका हिन्दुहरुले सरकारको यस निर्णयको खुलेर प्रशंसा गरिरहेका छन् । एजेन्सीको सहयोगमा