काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सबै बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा नेकपा निकट युवा तथा विद्यार्र्थीहरुसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ, त्यसपछि मात्र अभिभावकहरुले छोराछोरी विद्यालयमा पढ्न पठाउँछन् भन्नुभयो ।

नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनुपर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्दछ, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं, तर अब यो अवस्था रहिरहन सक्दैन ।”

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुलाई अब सिर्जनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्, अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले गतबर्षदेखि बिशेषरुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवाहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ, यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुनुहुँदैन ।”