मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभएको छ ।
हेटौंडामा हिजोदेखि जारी प्रदेशस्तरीय गोष्ठीमा सहभागी हुन आज हेटौंडा पुग्नुभएका गृहमन्त्री थापाले संचारकर्मीहरुसँग कुरा गर्नुहुँदै त्यस्तो जानकारी दिनुभएको हो ।

गृहमन्त्री थापाले विप्लव समूह राजनीतिको मूलधारमा आउनुको विकल्प नभएको बताउनुभयो ।
उहाँले कानूनले निषेध गरेका जुनसुकै समूहमाथि पनि सरकारले प्रतिबन्ध लगाउन सक्ने उल्लेख गर्नुहुँदै विप्लव समूहले कानून विपरितका गतिबिधि संचालन गरेका कारण प्रतिबन्ध लगाइएको स्पष्ट गर्नुभयो ।

गृहमन्त्री थापाले विखण्डनकारी तत्वलाई समेत मूलधारको राजनीतिमा ल्याउनु सरकारको उपलब्धी भएको उल्लेख गर्नुभयो ।
गृहमन्त्री थापाले अपराध नियन्त्रण र गुण्डागर्दीलाई नियन्त्रणमा लिन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

गृहमन्त्री थापाले प्रहरी ऐन आइनसकेका कारण प्रदेश र केन्द्र सरकारका बीचमा केही समस्या जस्तो देखिए पनि समाधान हुने जानकारी दिनुभयो ।
हेटौंडामा हिजोदेखि जारी सुरक्षा गोष्ठीमा प्रदेश तीनका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सहित उच्च सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।