सोलुखुम्बु, वैशाख ४ गते । सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो ।

नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो ।

टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै आज लबुचे पुग्नेछन् । उनीहरुसँगै नेपाल माउण्टेन एकेडमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ ।

उक्त टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताइएको छ । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन्् ।
टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा एक कार्यक्रमकाबीच चैत २७ गते बुधबार बिदाई गर्नुभएको थियो । सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सन् २०१९ मा सम्पन्न गरी आधिकारीक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।
नापी विभागले अहिलेसम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ । यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डङ्गोलको भनाइ छ ।

कति पटक नापियो

विश्वको सर्वोच्च शिखर भएकाले सगरमाथालाई संसारले नै चासोका साथ हेरेको छ । यसको आधिकारिक उचाइ मापनको काम भारत, अमेरिकालगायतको विभिन्न राष्ट्रले गरे पनि फरक÷फरक रिपोर्ट सार्वजनिक भएका छन् ।

नापी विभागका अनुसार सन् १८५२ मा पहिलोपटक ब्रिटिसले सगरमाथाको उचाइ नापेका थिए । नेपालमा नआई सर्भे अफ इण्डियाबाट नापेका ब्रिटिसले आठ हजार ८४० मिटर उचाइको हिमाल रहेको बताएका थिए ।

ब्रिटिसहरुले नै सन् १९०४ मा पुनः नापेको बताइन्छ । सन् १९५४ मा भारतीय नापी विभागको टोलीले आठ हजार ८४८ मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेको थियो । सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको दाबी गरेको थियो ।

यस्तै नर्वे, अमेरिका र चिनियाँ संस्थाले पनि सगरमाथाको उचाइ नापेको बताइन्छ । उनीहरुले नाप्दा फरक÷फरक समयमा फरक÷फरक रिपोर्ट सार्वजनिक गरेका थिए ।

नेपालले भने अहिलेसम्म आठ हजार ८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ । अब नेपाली टोलीले यसको उचाइ मापन गरी नेपाल सरकारकारलाई बुझाएको प्रतिवेदन नै आधिकारिक हुने बताइएको छ ।

चुचुरो पुग्न कति दिन

दिङ्बोचेबाट आधारशिविर पुग्नको लागि मात्र तीन क्याम्प मानिन्छ । दिङ्बोचेमा बसेको पर्यटक भोलिपल्ट करीब चार हजार ३४९ मिटर उचाइमा रहेको लबुचे पुगेर बस्छ ।

करीब पाँच हजार १०० मिटर उचाइमा रहेको गोरप्सेप पुगेर बसेको पर्यटक अर्को दिन सगरमाथा आधारशिविर पुग्ने पथप्रदर्शक चुडामणि केसी बताउँनुहुन्छ ।

आधार शिविरबाट सगरमाथा पुग्न चार क्याम्प पूरा गर्नुपर्छ । चार क्याम्प पूरा गर्नका लागि एकैपटक सम्भव नहुने आरोही बताउँछन् ।

पटक÷पटक क्याम्प १ पुग्ने, पुनः आधारशिविर झर्ने, पुनः क्याम्प २ पुग्ने आधारशिविर झर्ने काम पटक÷पटक गर्दै चुचुरोमा पुग्न सकिने २२आँै पटक सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमानी कायम गर्नुभएका आरोही कामीरिता शेर्पाले बताउनुभयो । शेर्पाले भन्नुभयो, “जतिमाथि गयो त्यति गाह्रो हुन्छ, त्यसैले सरासर जान सम्भव हुदैन त्यहाँको वातावरणसँग घुलमिल हुँदै जानुपर्छ ।” (रासस)