अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी तेस्रो पटक पनि एकसाथ पर्दामा देखिने निश्चित भएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ मा पहिलो पटक रोमान्स गरेका यी दुईको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पनि जोडी बाँधिएको छ । हालै यो फिल्मको यूके सुटिंग सकिएको छ l करीब २ महिना लामो यूके बसाईपछि राजधानी फर्किएको केही दिनमा नै पूजा र आकाशले तेस्रो पटक पनि साथमा काम गर्ने निर्णय लिएका छन् ।

‘तिमीसँग’ फेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्ने नयाँ फिल्म ‘पोई पर्‍यो काले’ मा दुई अनुबन्ध भएका छन् । नयाँ वर्ष २०७६ को दिन आइतबार निर्माण टिम र अभिनेता-अभिनेत्रीबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो । दुबैले कथावस्तु मनपरेका कारण फिल्म गर्न राजी भएको बताएका छन् । फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्मका निर्माता दिपक मनाङ्गे हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शीव गौतमको संगीत रहनेछ । निर्देशक राणाले रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई फिल्मले प्रस्तुत गर्ने बताए ।