सिमकोट वैशाख २ गते । देशका ७७ जिल्ला मध्ये राष्ट्रिय सडक संजालसंग नजोडिएको हुम्ला जिल्ला अब भने नजिकिदै छ । हुम्लालाई सडक संजालसंग जोड्नका लागि सडक निर्माणको जिम्मा लिएका हिल्सा सिमकोट सडक आयोजना र नेपाली सेनाले कामलाई दु्रतगतिमा अगाडी बढाए पछि हुम्ला सडक संजालसंग नजिकिएको हो ।
नजिकको छिमेकी जिल्ला बाजुरामा सडक पुगे पछि धेरै कुरामा त्यहाँका जनताहरुले राहतको महशुस गरेको देख्दा आफ्ना यस्ता दिन कहिले आउला भन्ने हुम्लावासीको आशाले अब चाँडै साकार रुप पाउने भरखरै सडक निर्माण स्थलमा पुगेर आउनु भएका काँग्रेस सभापति जयपति रोकायाले बताउनु भयो । नेपाली सेनाले निकै सराहनीय काम गरी रहेको र अब निर्धारित समयमा सेनाले आफ्नो काम सक्ने आशा उहाँले व्यक्त गर्नु भयो ।
यता बाजुरा जिल्लाको सिमानासम्म सडक यातायात पुगे पछि हुम्लावासी झनै सडक आउनेमा आशावादी भएको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दम मल्ले बताउनु भयो । हुम्लामा पनि सडक संजाल जोड्नका लागि ठाँउ ठाँउमा सडकको निर्माण कार्य तिव्र रुपमा भई रहेको कारण पनि जनता बढी आशावादी भएको उहाँले बताउनु भयो । अहिले बाजुरा र हुम्लाको सिमाना कवाडीमा दुई जिल्ला जोड्नका लागि कवाडी नदीमा बेलिब्रीज पुल निर्माण गर्ने कार्य धमाधम भई रहेको सो सडक निर्माण कार्यदलका गुल्मपति इन्जिनीयर मिलन कार्कीले बताउनु भयो । पुलको कामलाई आगामी जेठ पहिलो हप्तामा निर्माण कार्य सम्पन्न गरे संचालनमा ल्याउने र त्यस पछि हुम्ला खण्डमा नेपाली सेनाले निर्माण गरेको १५ किलो मिटर सडकमा गाडी गुड्ने उहाँले बताउनु भयो । कवाडी ललिसल्ला ६१ किलो मिटरमा १५ किलो मिटर सडक सेनाले क्लिएर गरी सकेको र बाँकी १० किलो मिटरमा हाल काम भइ रहेको उहाँले बताउनु भयो । अब सो खण्डको बाँकी ३६ किलो मिटर सडक पनि निर्धारित समयमा काम सम्पन्न गर्ने उहाँले बताउनु भयो । हाल तीन सय जना नेपाली सेनाका जवानहरुले काम गरी रहेको उक्त खण्डको काम गत बर्षबाट नेपाली सेनाले काम सुरु गरेको हो ।

यता सलिसल्ला देखि सिमकोट सम्मको ५१ किलो मिटर सडक निर्माणको जिम्मा हिल्सा सिमकोट सडक आयोजनाले पाएको छ । आयोजनाले पनि तीन खण्डमा सडकलाई निर्माण कार्य गरी रहेको सो आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताउनु भयो । कुल मध्य सिमकोट खार्पु १२ किलो मिटर सडक निर्माण सम्पन्न भएर हाल गाडी संचालन भई रहेको र खार्पु सुनाखाडा छारे खण्डको पनि सात किलो मिटर सडकको निर्माण कार्य सम्पन्न भएको र बाँकीमा पनि आवश्यक विष्फोटक पदार्थ सहित अन्य आवश्यक सामान सहित निर्माण कार्य भइ रहेको उहाँले बताउनु भयो । अर्को छारे सर्केगार्ड सलिसल्ला खण्डमा पनि नौ किलो मिटर सडक निर्माण भएर बाँकीमा काम भइ रहेको आयोजनाले जनाएको छ । अब कवाडी सलिसल्ला सिमकोटको कुल लम्बाई ११२ किलो मिटरमा ४२ किलो मिटर सडकको निर्माण कार्य पुरा भएको र बाँकी ७४ किलो मिटरमा काम भइ रहेको छ । विष्फोटक पर्दा, मेशिनरी पार्ट, मौसमले साथ दिए निर्धारित समयमा काम सम्पन्न हुने
प्रमुख मिश्रले बताउनु भयो ।