चितवन, २ वैशाख । वि सं २०७५ सालमा चितवन जिल्लाभरमा भएका सवारी दुर्घटनामा परि १५५ ले ज्यान गुमाए भने २३५ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते भएका थिए ।

अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले बताउनुभयो । प्रहरी जनशक्तिको कमी र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ । प्रहरीले सवारी चालक अनुशिक्षण, नियम पालना नगर्नेलाई जरिवाना, विद्यार्थीलाई ट्राफिक जनचेतना शिक्षा, ट्याम्पो चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, सडकमा गरिने पार्किङ व्यवस्थित गर्ने काम गरिरहेको उनले बताए ।

देशकै मध्यभागमा पर्ने यस जिल्लामा पूर्वपश्चिम राजमार्गसँगै पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ । ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै युवा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको छ ।