काठमाण्डौ , १ बैशाख । देवघाटमा अष्टधातुको शिवमूर्ति स्थापनार्थ आयोजित पशुपति महामहोत्सव आजबाट सुरु भएको छ ।यही वैशाख ११ गतेसम्म चल्ने उक्त महायज्ञको आज पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता झलनाथ खनालले उद्घाटन गरेका छन् ।

महामहोत्सवका प्रमुख अतिथि तथा पुर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका नेता झलनाथ खनालले नेपाल एक बहुभाषी तथा बहुधार्मिक समुदायको बसोबास रहेको मुलुक भएर पनि धार्मिक सहिष्णुता कायम रहेको बताएका छन् ।

उनले भने नेपालीहरु १२६ जात , अलग धर्म , अलग भेषभुषा र रहनसहन भएपनि एउटै भुभागमा बस्ने र एक राष्ट्रिय भाषाले आफ्नो पहिचान कायम गरेको बताए । उनले हिन्दु धर्मको आदि अन्त्य केही नभएको मानिँदै आएको र हिन्दुहरुका सर्वश्रेष्ठ भगवान् शिवको मूर्ति निर्माणका लागि आफुले सक्दो सहयोग गर्नेमा प्रतिबद्ध रहेको बताए । उनले पुण्यको यस कर्ममा सबैले मन वचन र कर्मले सहयोग गर्न समेत आग्रह गरे । उनले नेपालमा विभिन्न जात जातिको ईतिहास रचेका विविध स्थानका चर्चापरिचर्चा समेत गरेका थिए ।

उनले झापाको किचाक , मोरङको विराट राजाको ईतिहास , चितवनमा वाल्मिकी आश्रम , लुम्बिनी , सिञ्जा खस भाषाको ईतिहास लगायत थुप्रै कुरामा विविधता बोृकेको बताए । उनले हाम्रा छिमेकी देशबाट एक प्रतिशत मात्र जनता यता मिसिन आएभने हाम्रो अस्तित्व संकटमा पर्नेमा समेत जोड दिए । उनले बुद्ध जन्मिएको देशका नागरिक स्वयम्ले बुद्धको सन्देशलाई मनन भर्न नसकेकोमा दुख समेत व्यक्त गरे ।

शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि झण्डै रु आठ करोड लाग्ने भएकाले अर्थ र धातु सङ्कलनका लागि महायज्ञ थालिएको आयोजक देवघाट संरक्षण प्रतिष्ठानले जनाएको छ ।

तीन वर्षमा निर्माण सक्ने गरी देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ । महायज्ञ मूल आयोजक समितिका संयोजक केशव पाण्डेले धार्मिक क्षेत्रले समेत पर्यटन विकासमा ठूलो टेवा पुग्ने भएकाले उक्त अभियानलाई तीव्रता दिइएकाले सक्दो सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । पशुपतिनाथस्थित हङ्स मण्डपमा शुरु ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’बाट रु तीन करोड सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार ११४ क्वीन्टल धातुबाट शिवमूर्ति निर्माण गर्नका लागि धातु सङ्कलन अभियानसमेत सँगसँगै गरिएको छ ।

सङ्कल्पकर्ता पण्डित ईश्वरकृष्ण महाराजले महायज्ञमा तीन करोड बेलपत्र चढाउने तथा एक करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तन, मन, धन र धातु सहयोग गरी पुण्य प्राप्त गर्न अनुरोध गरेका छन् । महायज्ञमा रु एक लाख दान गर्ने संस्थापक सदस्य र रु पाँच लाख दान गर्ने व्यक्ति स्वतः संस्थापक सदस्य तथा संरक्षक हुने व्यवस्था छ । अर्का पण्डित बालकृष्ण अर्यालले धार्मिक पर्यटन क्षेत्रले राष्ट्रलाई समृद्ध बनाउन सहयोग गर्ने भएकाले यस्ता क्षेत्रको प्रवद्र्धन जरुरी रहेकोमा जोड दिएका छन् ।

उद्घाटन समारोहमा काभ्रेपलाञ्चोकको धुलिखेल निवासी बनाथकाजी र नुच्छेमाया श्रेष्ठले रु एक लाख पाँच हजार, चितवन भरतपुर– २२ की दुर्गादेवी घिमिरेले रु एक लाख एक हजार र पण्डित ईश्वरकृष्ण महाराजबाट रु एक लाख सहयोग प्राप्त भएको महायज्ञ मूल समारोह समितिले जनाएको छ ।