‘इन्टु मिन्टु लण्डनमा’ फिल्मका निर्माता प्रज्वल सम्सेर राणासँग यही फिल्मकी निर्देशक रेनशा वान्तवा राईले लगनगाँठो कस्ने भएकी छन् । ‘मेरो एउटा साथी छ’ फिल्मका निर्माता प्रभु सम्सेर राणाका छोरा प्रज्वलसँग करीब ७/८ वर्षदेखि नै रेनाशा प्रेममा थिइन् । करीब एक दशक कोरियोग्राफीको अनुभव संगालेकी रेनशा ‘इन्टु मिन्टु’ बाट फिल्म निर्देशनमा होमिएकी हुन् । प्रज्वलका पिता प्रभुले बनाएको दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ बाट उनले कोरियोग्राफी यात्रा थालनी गरेकी थिइन् ।

प्रज्वल र रेनशाले आउँदो बैशाख २४ गते अग्नीलाई साक्षी राखेर विवाह गर्दैछन् l केही दिनयता दुबै विवाहको तयारीमा जुटेका छन् । रेनशाले पछिल्लो पटक कोरियोग्राफी गरेको फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीत निकै चर्चित भएको थियो । अब बैबाहिक जीवनमा बाँधिएपछि उनी नयाँ फिल्म निर्देशन गर्दैछिन् । प्रज्वलले निर्माण गर्न लागेको फिल्म ‘आई एम ट्वान्टिवान’ उनले निर्देशन गर्ने पक्का भइसकेको छ । यसमा ‘इन्टु मिन्टु’ बाट डेब्यू गरेका अभिनेता धिरज मगर लिड रोलमा रहनेछन् । योसँगै प्रज्वलले दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल निर्माण गर्दैछन् ।