काठमाडौँ २८ चैत । चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अष्टधातुबाट शिवको मूर्ति निर्माण गर्नका लागि काठमाण्डौको पशुपतिनाथ क्षेत्रमा आउँदो बैशाख १ गते देखि ११ गतेसम्म पशुपति महोत्सव तथा अष्टधातु संकलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ हुन लागेको छ ।

पौराणिक धार्मिक महत्वले भरिपुर्ण भएर पनि नेपालमा भित्रने प्रायजसो बाह्य पर्यटकलाई देवघाटमा आकर्षित गर्ने खालका भौतिक संरचना नभएको अवस्थामा ३० फिट अग्लो अष्टधातुबाट निर्मित सो शिव मुर्ति एउटा महत्वपुर्ण सम्पदा बन्न सक्ने विश्वास गरिएको छ । अष्टधातुबाट निर्मित ३० फिट अग्लो शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि अभियान थालिएको देवघाट संरक्षण प्रतिष्ठानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यहाँ चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाममिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ ।यस मुर्ति निर्माणका लागि गरिने महायज्ञको अर्को मुख्य उद्देश्य भनेको सन् २०२० सम्ममा नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य पुरा गर्ने समेत रहेको देवघाट संरक्षण प्रतिष्ठानले जनाएको छ ।


धातु र अर्थ सङ्कलनका लागि यसअघि पनि विभिन्न जिल्लामा महायज्ञ सञ्चालन गरेको प्रतिष्ठानले आगामी वैशाख १ देखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथमा महायज्ञ आयोजना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिनुभयो ।संयोजक पाण्डेले काठमाण्डौ आएका धार्मिक पर्यटक साँगा पुग्नुले शिव मुर्तिको आकर्षणका कारण सम्भव भएको प्रष्ट पारेकाले देवघाटमा शिव मुर्ति निर्माण भएमा धार्मिक पर्यटनमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

पशुपतिनाथस्थित हंसमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’मा रु तीन करोड सङ्कलन गर्ने लक्ष्य राखिएको बताउँदै प्रतिष्ठानका महासचिव मदन मिश्रले शिवमूर्ति निर्माणपछि देवघाटको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले घरमा थन्किएका धातुसहित सक्दो आर्थिक सहयोग गर्न आग्रह गर्नुभयो । पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा हुने महायज्ञमा तीन करोड बेलपत्र चढाउने तथा एक करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्वीन्टल धातु र रु ३२ लाख सङ्कलन भएको तथा सरकारबाट रु ५० लाख सहयोग प्राप्त भएको छ । महायज्ञमा रु एक लाख दान गर्ने संस्थापक सदस्य र रु पाँच लाख दान गर्ने व्यक्ति स्वतः संस्थापक सदस्य र संरक्षक हुने व्यवस्था छ ।

महायज्ञका मिडिया संयोजक नारायण ढङ्गानाले शिवमूर्तिसहित आकर्षक उद्यान तथा विश्रामस्थल र आश्रम निर्माण हुन सके देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका ठूलो टेवा पुग्ने बताउनुभयो । महायज्ञ मूल समारोह समितिका सचिव युवकराज पराजुलीले धर्म र पर्यटन अन्तरराष्ट्रिय समुदायको आकर्षण र देशको समृद्धिका वाहक भएको उल्लेख गर्दै हरेक नेपालीको अपनत्व हुने गरी शिवमूर्ति निर्माण गर्न लागिएकाले सहयोगका लागि सबैमा आग्रह गर्नुभयो ।

महायज्ञअघि नै रु २३ लाखको घोषणा


महायज्ञ शुरु हुनु अगावै विभिन्न क्षेत्रका समाजसेवीबाट रु २३ लाखको प्रतिबद्धता प्राप्त भएको जनाइएको छ । तेइस जनाले अहिले नै रकम दिन खोज्नुभएको थियो तर आयोजकले महायज्ञकाअवसरमा हस्तान्तरण गर्न अनुरोध गरेपछि तत्काललाई पैसा हस्तान्तरण रोकिएको प्रतिष्ठानका महासचिव मिश्रले पत्रकारलाई जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल निवासी बनाथकाजी श्रेष्ठले धार्मिक क्षेत्रको विकास गर्न लागिएकाले रु एक लाखमाथि रकम सहयोग गर्ने आज पत्रकारमाझ घोषणा गर्नुभयो ।