चितवन , २८ चैत । पश्चिम चितवनको पर्यटकीय गन्तव्य ज्ञानेश्वर सामुदायिक वनमा अन्तरराष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ भोली ( शुक्रबार ) बाट चैते दशैं मेला शुरु हुने भएको छ ।


चैते दशै र नयांँ बर्षको अवसरमा गीतानगर व्वाइज क्लब र विहानी टोलसुधार समितिको संयुक्त आयोजनामा सो मेला हुन लागेको हो । आयोजकले नारायणगढमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै मेलाका संयोजक प्रकाश रिजालले पर्यटन प्रर्वद्धन गर्न र रंगशाला निर्माणको लागि सहयोग पुगोस भन्ने उद्धेश्यले मेलाको आयोजना गरिएको बताए । उनका अनुसार मेलामा राष्ट्रिय तथा स्थानीय स्तरका गायक तथा कलाकारको साथ बृहत सांस्कृतिक कार्यक्रम गरिने छ । मेलामा चर्चित कलाकार भि टेन, अशोक दर्जी, कमल खत्री , सन्दीप क्षेत्री , मिष्टर डी ,सुलेमान शंकर लगायतको प्रस्तुति रहने संयोजक रिजालले बताए । चार दिनसम्म चल्ने मेलाको सम्पुर्ण तयारीको काम पुरा भएको आयोजकले जानकारी दिएको छ ।

विहानी टोल विकास समितिका उपाध्यक्ष टेक बहादुर गुरुङ्गले मेला सम्पन्न गर्न १५ देखि २० लाख खर्च हुने बताए । मेलामा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहने र ३० लाख भन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको गुरुङ्गले बताए । मेला तथा सांस्किृतक कार्यक्रम अवलोकनको लागि प्रति व्यक्ति २०० रुपैयांँको टिकटको व्यवस्था गरिएको छ । मेलाको बिशेष सहयोगी संस्थाको रुपमा बि हेन्सी टेलरिङ्ग रहेको छ ।