काठमाडौँ, चैत २६ । ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि शुरु हुँदैछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित सो तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एक हजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए ।

सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिनेछ । स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवद्र्धन, प्रविधि र आवश्यक मेडिकललगायत विषयमाथि सम्मेलनमा छलफल हुने उनले जानकारी दिए ।

सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार पनि वितरण गरिने छ । परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ । ( रासस )