२६ चैत, बुटवल ।निमोनियाको उपचारका क्रममा दश महिने शिशुको मृत्यु भएपछि अभिभावकले क्षतिपूर्ति र छानविनको माग गर्दै शव बुझ्न मानेका छैनन् । उपचारका क्रममा बुटवलका ओम दर्लामीको सोमबार साँझ आम्दा अस्पतालमा मृत्यु भएको थियो ।

शिशुका बुबा नारायण दर्लामीले भने शुरुमा इमर्जेन्सी र पछि आईसीयूमा राखेको २ घण्टासम्म डाक्टरलाई बोलाइदिनुस् भन्दा पनि नर्सहरुले नबोलाएको गुनासो गरे ।

शिशुलाई आम्दामा ल्याउनुअघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल मेडिकल कलेज र तिलोत्तमा हस्पिटल प्रालि बुटवलमा चेकजाँच गरिएको थियो ।आम्दा अस्पतालकै कन्सल्ट्यान्ट डा सन्तोष पोखरेलले तिलोत्तमा हस्पिटलमा चेकजाँच गरेपश्चात आम्दामा भर्ना गर्न रिफर गरेअनुसार शिशुलाई आईसीयूमा लगेर उपचार शुरु गरिएको थियो ।
डा सन्तोषले लेखेअनुसारकै औषधि दिएर शिशुको उपचार गर्दागर्दै मृत्यु भएको आम्दाका उपनिर्देशक डा केशव शर्माले बताए। नर्स कृति बेल्बासे, मानबहादुर बोहरा, श्रीकान्त सुवेदी र स्वागतको टिमले सीटीआर गरेर बचाउने प्रयास गरे पनि शिशुको अवस्था पहिल्यै गम्भीर रहेकाले बचाउन नसकिएको बताए ।

उपचारमा अस्पतालको गल्ती र दोष नभएको उनले दावी गरेका छन् । तरपनि पीडित पक्षको मागलाई ध्यानमा राख्दै छानविन गर्न अस्पताल तयार रहेको उनले प्रष्ट पारे । अस्पताल प्रशासन र मृतक शिशुका अभिभावकबीच विवाद समाधानको लागि वार्ता प्रयास भइरहेको छ ।