चितवन , २४ चैत । चौविसै घण्टा निरन्तर बिरामीको सेवामा खट्नुपर्ने चिकित्सकले विभिन्न बहानामा बिरामीलाई दुख दिएको भन्दै अब त्यस्ता कार्य बन्द उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरुलाई आग्रह गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताएका हुन् ।

कुनै महत्वपूर्ण विषय भएमा त्यसप्रति सरकार सकारात्मक रहने भएकाले विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी नरहेको बताएका हुन् । समायोजनले चिकित्सकको वृत्तिविकासमा कुनै अवरोध सिर्जना नहुने र कुनै भ्रम नपाल्न आग्रह समेत गरेका छन् । आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उनले चिकित्सकलाई आग्रह गरेका छन् ।चिकित्सकका समस्या सरकारले बुझेको भन्दै यादवले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राखे ।चितवन मेडिकल कलेजको फरक प्रसङ्गमा उनले तोकेको भन्दा बढि शुल्क लिने र दिने दुवै दोषी हुने भएकाले यसको छानबिन गरी कारबाही प्रक्रिया अघि बढाईने बताए।उनले सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भएकाले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि संवाद गर्ने प्रतिबद्धता जनाए ।