काठमाडौं ,२४ चैत । चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ ।

दुर्गा भवानीको विशेष उपासना गरिने यस पर्वलाई चैते दशैको नामले समेत चिनिन्छ । आश्विन शुक्ल पक्षमा मनाईने बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । यसवर्ष पनि हिजोदेखि सुरु भएको यस पर्वमा शक्तिपीठहरुमा भीड लाग्न थालेको छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ ।

वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ ।

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उनले बताए । चैत्र नवरात्र शुरु भएको अवसरमा हिजोदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ ।

यसैगरी चैते दशैका अवसरमा लाग्ने विक्रमबाबा मेला पनि यही चैत २२ गते अर्थात् शुक्रबारबाट सुरु भएको छ । सो मेलामा भने थारुहरुका गुरौैँ विक्रम बाबालाई पुज्ने गरिन्छ ।