काठमाडौं ,२३ चैत । चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माण प्रक्रिया अघि बढेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ आयोजित मातृभूमि कप क्रिकेट प्रतियोगिताको आजको लागि तय भएको खेल पानीले बिथोलेको छ ।

शनिबार कलाकारहरुको दुई टोलीले मैत्रीपूर्ण मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने तालिका थियो । पहिलो खेल १० बजेबाट सुरू हुने गरी समय मिलाइएको थियो ।
तर, शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा मौसम बदली भई वर्षा भएपछि निर्धारित खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ ।

स्थगित खेल मौसममा सुधार आएपश्चात सञ्चालनमा ल्याउने आयोजकले जानकारी दिएको छ ।

जीवनमा पहिलो पटक ब्याट र बल समाएका कलाकारहरू प्रतिष्पर्धाका लागि केही समयदेखि जुटेका छन् । उनीहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिईरहेको फाउन्डेसनका संयोजक सीताराम कट्टेल धुर्मुसले बताए ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाउने आयोजकको योजना छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।

खेल हेर्ने दर्शकका लागि १ हजार र तीन सय रुपैयाँको टिकट दर तोकिएको छ । खेलको टिकट ईसेवामार्फत पनि काट्न सकिने छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ ।

खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउन्डेसनले घोषणा गरिसकेको छ ।