चितवन , अपिल घिमिरे , २२ चैत्र । प्रत्येक वर्ष चैत्र औसीबाट सुरुहुने चितवनको मौलिक धार्मिक
मेलाका रुपमा परिचित चितवन राष्ट्रिीय निकुञ्जको काख तथा राप्ती तटीय क्षेत्रमा अवस्थित बिक्रम बाबाको पूजा तथा मेला शुक्रबार आजबाट शुरू भएको छ ।


चितवनका आदिबासी थारुहरुका गुरौँ बिक्रम बाबालाई सुरुको समयमा थारुजातिले पुज्दै आएपनि पछि गएर अन्य जातिले पनि पुज्दै आएका छन।बिक्रम बाबाको खास मन्दिर भने छैन चितवन राष्ट्रिय निकुञ्ज भित्रकै कसरा नजिक वृक्षको फेदमा पूजा गरिन्छ ।पटक पटक मन्दिर बनाउन खोजे पनि आफै भत्कने गरेको इतिहास रहेको छ । भक्तजनले नरिवल भोग लगाउने , परेवा उडाउने र बोका बलि चढाउने गर्दछन।बिक्रम बाबाको भाकल र पूजाले मनोकांक्षा पुराहुने साथै सन्तान फल प्राप्त हुने जनविश्वास रहदै आएको छ ।
भरतपुरको चौबिसकोठिबाट दक्षिण पटिहानी , जगतपुर हुँदै करीब बीस किलोमिटर यात्रा गरेपछि बिक्रम बाबा मेला परिसर पुगिन्छ । भक्तजनको सहजताको लागि पार्किङ्गको ब्यबस्थापन गरिएको छ।पूजा सामाग्री , खाजा ,फेन्सी लगायतका सयभन्दा बढीस्टलहरु राखिएका छन् । पुजा गरि फर्कने भक्तजनहरूको लागि पिकनिक स्थलको व्यबस्था छ।


घैलाघारी मध्यवर्ती सामुदायिक वनले मेलाको आयोजना गरेको छ । यसपटक देखि मेलामा मदिराको ओसारपसार र बिक्री वितरण गर्न पूर्ण रुपमा निशेध गरिएको छ ।साथै प्लास्टिकका झोलाको बिकल्पमा आयोजक र व्यापारीले बातावरणमैत्री झोला बिक्री गरेको छ।ठाउँठाउँमा फोहोर संकलनका लागि डस्टबिन राखिएको छ ।
कसराको पूल पारगरी करिब बीस मिनेट पैदल हिँडेपछि पूजा स्थलमा पुगिन्छ ।निकुञ्ज भित्र पनि प्लास्टिक जन्य पदार्थमा कडाई गरिएको छ । सुरक्षा चुनौती र पूजा व्यवस्थापनलाई मध्यनजर गर्दै निकुञ्ज सुरक्षार्थ बटुकदल गण कसराले छुट्टाछुट्टै स्थानमा सीसी क्यामरा जडान गरेको छ।दुर्लभ वन्यजन्तुको वासस्थान रहेको क्षेत्र हुनाले भक्तजनहरू बन्यजन्तुमैत्री हुनुपर्ने, आफूसंगै ल्याएको प्लास्टिकजन्य पदार्थ तोकिएको स्थानमा ब्यबस्थापन गर्नपर्नेछ वा आफैले फिर्ता लानु पर्नेछ, भड्किला कपडा र गरगहना नलगाउन निकुञ्जले अनुरोध गरेको छ ।वन र बन्यजन्तु सम्बन्धि कुनै पनि वस्तु ओसारपसार गर्नेलाई कारबाही समेत हुने जनाइएकोे छ । आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्थ डेस्क को ब्यबस्था छ।
बिक्रम बाबा पूजा गर्न माडीको बाटो समेत भएर आउने गर्दछन् ।माडी बसन्तपुरबाट करिब पन्ध्र किलोमिटर जंगल हुदै कसरा पुगिन्छ ।माडीबाट आउने भक्तजनहरूले पनि वारी मेलाको पार्किङ्ग परिसरमा सबारी साधन पार्किङ्ग गरेर मात्र पूजा स्थलमा जानुपर्ने हुन्छ ।बिक्रम बाबा पूजा व्यवस्थापन पटिहानी उपभोक्ता समिति र केरूङ्गा उपभोक्ता समिति जगतपुरले गरेको छ ।
बिक्रम बाबा पूजामा आउनेहरूले चितवन राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सक्छन।राप्ती पुलबाट बिभिन्न प्रजातिका माछा , कछुवा र लोपोन्मुख घडीयाल गोही देख्न सकिन्छ । नदितटीय क्षेत्रमा मयुर नाचेको , मृग , चित्तल, हरीण आदी चरेको समेत हेर्न पाइन्छ ।निकुञ्ज भित्र घडीयाल प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र घुम्नेको घुईचो नै लाग्दछ।भोक लागे संगै जगतपुर, पटिहानी क्षेत्रमा खोलिएका थुप्रै होटल, रेस्टुरेन्टहरुमा स्थानीय परिकारहरूको मज्जा लिन सकिन्छ ।
पछिल्लो समय नेपालका बिभिन्न शहर र भारत बाट समेत श्रद्दालु भक्तजनहरू बिक्रम बाबा आउने गरेका छन् ।बर्षेनी पूजा गर्न आउने श्रद्दालु भक्तजनहरूको चाप बढ्दै गएपछि सरसफाइ र निकुञ्ज भित्र अन्य चुनौतीहरू थपिन सक्ने भएकाले ब्यवस्थापन र सुरक्षामा कडाई गरिएको छ ।


बिक्रम बाबा मेला तथा पुजाको कारण धार्मिक पर्यटनमा बृद्धि भएको छ ।यसले गर्दा पश्चिम चितवनको पटिहानी जगतपुरको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने हुनाले सम्बन्धित सबैले प्रचारप्रसार तथा ब्यबस्थापनमा जोड दिन जरुरी छ ।बैशाख पूर्णिमा अर्थात् बैशाख ६ गते मेलाको समापन हुने छ ।