२२ चैत २०७५ काठमाडौं : आइपीएल-२०१९ अन्तर्गतको ट्वेन्टी–२० क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध रहेको टोली दिल्ली क्यापिटल्स पुनः पराजित भएको छ ।

सनराइजर्स हैदरावादले शुक्रबार राति भएको खेलमा दिल्लीलाई ५ विकेटले हराएको हो ।

फिरोज कोट्ला रंगशालामा घरेलु टोली दिल्लीले दिएको १३० रनको सामान्य लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सनराइजर्स हैदरावादका लागि जोनी बेयरस्टोले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४८ रन बनाए ।

दिल्लीका सन्दीप लामिछानेले एक विकेट लिए । जारी आइपीएल क्रिकेटमा सन्दीपको यो लगातार तेस्रो खेल थियो । उनले हैदरावादविरुद्ध ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट लिएका हुन् ।

हैदरावादविरुद्धको विकेटसँगै सन्दीपले यो सिजनको ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।

यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनमात्रै बनाएको थियो ।

दिल्लीका कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडेका थिए ।

जितसँगै हैदरावाद चार खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दिल्लीको भने समग्रमा यो तेस्रो हार हो । पाँच खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ ।