उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर प्रशंसा गरेका छन् । सोमवार काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा कडा सुरक्षाका बीच श्रीमतीसँग पुगेका उनले फिल्मको कथा र कलाकारहरुको अभिनय मन परेको बताए । फिल्म हेरिसकेपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने- ‘एकदमै राम्रो लाग्यो फिल्म । सबै नेपालीले एकपटक छुटाउन नहुने फिल्म बनेको छ । उनले फिल्मका निर्माता तथा अभिनेता भुवन केसीलाई ‘महानायक’ र अनमोललाई ‘सुपरस्टार’ को उपाधिले पनि सम्बोधन गरे । उपराष्ट्रपति पुनले फिल्म हेरेपछि अभिनेत्री उपासना सिंह ठकुरीको मुक्तकण्ठले प्रशंसा गरे ।

उपराष्ट्रपतिसँगै फिल्म हेर्न अभिनेता शिव श्रेष्ठ, कलाकार तथा निर्माता किरण केसी, गायिका अञ्जु पन्तलगायत पनि पुगेका थिए । अभिनेता शिवले फिल्मको मेकिङको प्रशंसा गरे । उनले फिल्म ‘क्याप्टेन’ हेरेपछि आफू रोएको पनि बताए । एक मध्यम वर्गीय युवकले देशका लागि फुटबलमा गोल्ड मेडल जित्न गर्ने संघर्षको कथामा यो फिल्म आधारित छ । दीवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा कथा सामिप्यराज तिमल्सिनाको हो । भुवन केसी निर्मित फिल्ममा सुनिल थापा, प्रशान्त ताम्रकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ ।