समीक्षात्मक हिसावले अब्बल ठहरिएको चलचित्र ‘बुलबुल’ अमेरिकामा आयोजना हुदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ओपनिङ्ग चलचित्रको रुपमा प्रदर्शन हुने भएको छ । विगत तीन बर्षदेखी संचालन हुदै आएको यो फेस्टिभलमा चलचित्र समावेश हुने निर्देशक विनोद पौडेलले जानकारी दिएका छन् । फिल्म फेस्टिभलको तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ ।

महोत्सवमा मौलिक चलचित्रको प्रदर्शनसँगै नेपाली चलचित्रका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ । ‘बुलबुल’ यतिबेला प्रदर्शनको चौथो हप्तामा रहेको छ । हलिउड, बलिउड र ठुलो बजेटको नेपाली चलचित्रको चेपुवामा परेको चलचित्रले डेढ करोड ग्रास कमाइ गरेको निर्माण टिमको दावी रहेको छ । चलचित्रमा स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा र मुकुन भुषाल मुख्य भूमिकामा रहेका छन् ।