नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा आज वा भोलिभित्रै सर्वोच्च अदालत जाने घोषणा गरेका छन् ।

उनले अहिलेपनि देशलाई भ्रष्टाचारबाट मुक्त गर्न समय बाँकी रहेको सुनाए । उपसचिव सञ्जेलले भने,‘त्यसको लागि राजनीतिले भ्रष्टाचार गर्नुहुँदैन् । त्यस्तै राजनीतिले भ्रष्ट कर्मचारीतन्त्रउपर कारवाही गर्ने हिम्मत देखाउनुपर्यो । भ्रष्टाचारविरुद्ध काम गर्ने निकाय र यसका पदाधिकारीहरुले खुद भ्रष्टाचार गर्नुभएन् । र, भ्रष्टाचारीलाई कारवाही गर्न तिघ्रा कमाउनु पनि भएन्। कर्मचारीहरु जनताका नोकर हुन । तर, अहिले नोकर मालिक र मालिक चाँहि नोकर भएको अवस्था छ । अहिले हाम्रो देशमा भ्रष्टाचारको कुरा गर्दा गाईजात्राभन्दा पनि तल्लो स्तरको अवस्था छ।’ सञ्जेलले नेपाली जनतापनि राणा कालका रैतीबाट सार्वभौम जनता हुन नसकेको गुनासो पोखे । उनले थपे,‘अब जनता सार्वभौम भई आफ्नो हक खोजे भने भ्रष्ट कर्मचारी र राजनीतिज्ञ मिलेर जनतालाई नै उल्टो सताउँछन् । त्यसैले अहिले जनताले आवाज उठाउन चाहेरपनि सकिरहेका छैनन् । जनता आँफै यतिवेला ‘आमाको पोल मामालाई लगाएर के फाईदा हुन्छ ?’ भनेर उखान टुक्का बनाएर बसेका छन् । दुनियाँमा कसैलाईपनि घुस दिने ईच्छा हुँदैन्, घुस दिने अवस्था त भ्रष्ट कर्मचारी र राजनीतिज्ञले सिर्जना गरेको अवस्था हो ।’