सुन्धारास्थित काठमाडौं मलमा व्यवसाय गरिरहेका व्यापारीले आफूहरूलाई कर्मचारी सञ्चय कोषले बिचौलिया लगाएर धपाउन खोजेको आरोप लगाएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं मल व्यापार संघले आफूहरूलाई दुख दिने र व्यवसाय नै धरापमा पार्ने नियत राखेर सञ्चय कोष लागिपरेको बताएको छ । काठमाडौं मल व्यापारिक केन्द्रका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । सञ्चय कोषको लगानीमा निर्मित भवनलाई सञ्चालन गर्न कोषले स्पष्ट नीति नलिँदा व्यापारी सधैं अन्योलको अवस्थाबाट गुज्रिने गरेको उनीहरुको भनाइ छ । 


‘बल प्रयोग गरेर पसल हटाउने कोषका कर्मचारीका कुराले ब्यापारीहरुले आत्महत्याको बाटो रोज्नु पर्ने अवस्था सृजना हुन थालेको छ’ संघकी अध्यक्ष सुष्मा महराले बताइन् । ठेकेदारहरु लामो समय नटिक्ने कारणले ठेकदारसँग लामो समयको सम्झौता गरेर बसेका व्यवसायको बिचिल्लिको अवस्था सृजना भएको समेत संघको भनाइ छ । कोषले २१ दिनभित्र व्यवसाय गरिरहेको ठाउँ खाली गर्न भनेको छ । ‘२१ दिन भित्र व्यवसाय गरिरहेका ठाउँ खाली गर्न निकालिएको सूचना न्याय संगत देखिदैन र ब्यपारीहरुको अर्वौ रुपैया जोखिममा परेको छ,’ संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । कर्मचारी सञ्चय कोषले भने मल बाहिरका व्यापारीहरुलाई मात्र हटाउन खोजेको जनाएको छ ।