२५ पुस क्यानडानेपाल डट टिभी :  पुष २७ अर्थात नेपाल एकीकरण गर्ने राष्ट्रनायक पृथ्वी नारायण शाह जन्मिएको दिन । १३ पुस्ता सम्म नेपालमा सासन गरेको उनै पृथ्वी नारायण शाहको वंश स्वर्गीय राजा विरेन्द्र राज्यसत्तामा रहंदा वंशनाश नै हुने गरि गरिएको दरबार हत्याकाण्ड सँगै कमजोर बन्दै गएको थियो ।

कथीत जनयुद्ध लडिरहेको माओवादी समेत शान्ति प्रक्रियामा आउने गरि गरिएको १२ वुँदे सम्झौता र गणतन्त्रको लागि भएको १९ दिने आन्दोलन पश्चात विरेन्द पछी राजा बनेका श्री ५ ज्ञानेन्द्रले जनताको नासो जनतालाई बुझाउछु भन्दै आफ्नो पुर्खाले एकीकरण गरेको नेपाल र आफ्नो सम्पूर्ण शक्ति दलहरुलाई बुझाउँदै आफू पाखा लागेका थिए ।

गणतन्त्र जब आयो , गणतन्त्र पश्चात नेपालमा के-के नै परिवर्तन हुन्छ भनेर जसरि जनता उत्साहीत बनेका थिए खासै त्यस्तो परिवर्तन केहिपनि आउन सकेन तर राज्यले सिके राउत र आंग काजि शेर्पा जस्ता पात्र जन्मायो । हुनसक्ला यी दुइ पात्र राज्यकै कारण पनि जन्मिएका होलान् वा उनीहरुले कुनै समूदायको माग लिएर अगाडी बढेका पनि होलान् । तर, उनीहरुको पछिल्लो क्रियाकलापलाई मध्यनजर गर्ने हो भने सोझै लाटोले पनि बुझ्न सक्छ कि उनीहरु देश विखण्डनका लागि लागि परेका छन् ।

अर्को एउटा जमात पनि छ जसले काठमाण्डौका नेवारहरुलाई उचाल्ने प्रयत्न गर्दै राज्य विरुद्ध भडकाउदै गएको देखिन्छ । यो समूह स्वर्गीय पद्म रत्न तुलाधरलाई नाइके मान्ने समूह हो जसले पृथ्वी नारायण शाहलाई दुश्मन भनेर परिभाषित गर्छ ।

हामीले गणतन्त्र आएपछिका युगमा प्रत्येक वर्ष देख्ने कुरा हो , यहि आङ काजि शेर्पा र स्वर्गीय पद्म रत्नलाई नाइके मान्ने समूह मिलेर पृथ्वी नारायण शाहलाई एकै ठाउँमा भेला भएर थुक्ने गरिन्छ । यो क्रम यहीं रोकिदैन , सामाजिक संजालमा पृथ्वी नारायण शाहलाई अनेक गालि गरिन्छ । यहि समूह र पृथ्वी नारायण शाहलाई नेपाल एकीकरणका पिता मान्ने समूह विच सामाजिक संजालमा बाझाबाझ समेत हुने गरेको देखिन्छ ।

०६३ को परिवर्तन र गणतन्त्र पश्चात एकता दिवसको विदा कहिल्यै पनि दीइएन र राज्यले कहिल्यै पनि यसलाई मनाएन । तर, यहि क्रमलाई तोड्दै ०७४ मंसिर १५ गते मन्त्रिपरिषदले पृथ्वी जयन्ति (एकता दिवस) को विदा दिने निर्णय गर्यो । यतिबेला नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र उपप्रधानमन्त्रि कमल थापा थिए । बुझ्नेहरुका अनुसार यो निर्णय कमल थापा र उनकै नेतृत्वको राप्रपा कै जोडका कारण भएको थियो ।

तर, नेकपाको दुइ तिहाइ सरकार बनेसँगै पृथ्वी जयन्ति(एकता दिवस) को विदा फेरी काटिएको छ । पहिलेपनि सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीले प्रचण्ड र माओवादीका कारण एकता दिवसको विदा दिन सकिएन भन्दै ०७३ मा भनेका थिए । यसपटक त झन् दुइ पार्टी एक भइसके पस्चात त्यो आशा गर्न सकिने अवस्था यसैपनि थिएन ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई लखेटेका थिए । उनको कुनै धर्मप्रति द्वेष भन्दापनि त्यतिबेला उनले अंग्रेजहरुलाई लखेटेका थिए किनकि उनीहरु नेपालमै रहेर यहाँ आन्तरिक द्वन्द मच्चाउन चाहन्थे । अर्को तथ्य के भने , पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेका भए आज नेपाल भन्ने राष्ट्र हुने थिएन । तत्कालिन बाइसे चौबिसे राज्य भारत वा पश्चिमाको एकीकरणमा परेर सक्किने थिए । अथवा भन्नुपर्दा , नेपालीहरु पश्चिमाको अथवा भारतको दाश हुने थिए ।

अहिलेसम्म पनि नेपाल सार्वभौम हुनसकेको कारण यहि नै थियो कि यहाँ विदेशीले चाहेको जसरि कहिल्यै पनि खेल्न पाएनन् । जतिखेर सम्म यो देश पृथ्वी नारायण शाहले दिएको उपदेश अनुसार चल्यो त्यतिबेलासम्म यहाँ बिदेशी चलखेल खासै देख्न पाइएन ।

पृथ्वी नारायण शाहको मूख्य नीति नै आफ्नै देशको उत्पादन उपयोग गर्नु , आफू आत्मनिर्भर बन्नु , दक्षिण तर्फ रहेको भारतसँग सजग रहनु , अंग्रेजहरुलाई खेल्ने मौका नदिनु र चिनसँग आफ्नो सम्वन्ध बढाउनु भन्ने खालको थियो । तर, गणतन्त्र निम्तीए पश्चात यो सबै कुरा ठिक उल्टो गर्दै अहिलेका नेतृत्व अघि बढेको देखिन्छ ।

देशमा बनेको वस्तु उपयोग गर्नु भन्ने पृथ्वी नारायण शाहको उपदेश विपरीत अहिले देशमा कुनै उद्योग बाँकी छैनन । राजाहरुले बनाएका सिमेन्ट उद्योग , चिनी उद्योग , जुत्ता , कपडा उद्योग सबै नै नेतातन्त्रले सक्क्याए । देश आफ्नै उत्पादनमा आत्मनिर्भर हुनसक्ने अवस्था छैन । देशका युवा सबै विदेशिएका छन् । अर्थात पृथ्वी नारायण शाहको उपदेश भन्दा ठिक उल्टो चलेको छ देश ।

भारतबाट सावधान रहनु भन्ने उपदेश विपरीत आफ्नो देशको हरेक सम्झौता भारतीय भूमिबाट नै हुन थाल्यो । यहाँसम्म कि , गणतन्त्र संस्थागत गर्ने १२ वुँदे सम्झौता समेत भारतमै भएको थियो । देशका युवालाई महत्व दिनुपर्ने उपदेश नसुन्नाले देशको युवा सबै बिदेशीएका छन् ।

एकीकरण भएर चार जात र छत्तिस वर्णमा मिलेर बसेको देशमा अहिले दलीत, आदिवाशी , जनजाति , बाहुन , क्षेत्री (खस) भन्दै कित्ताकाट गरियो । एकीकरण भएको देश टुक्र्याउन सिके राउत र आंग काजि अनि पद्म रत्न जस्तो प्रवृति उब्जाईयो ।

देश टुक्र्याउन देशको लागि आवश्यक नै नभएको संघियता ल्याइएको छ । त्यहि संघीयतालाई टेकेर स्वतन्त्र मधेशका नारा लाग्न र आफ्नो प्रदेश आफ्नो अधिकार भन्ने खालका नारा लाग्न थालिसकेका छन् । प्रदेश सरकारले केन्द्र सरकारलाई नटेरेको समाचार हरु आउन थालिसकेका छन् । यसरि पृथ्वीनारायण शाहले एकीकरणको नारा बोकेका थिए र त्यसको ठिक उल्टो चलेर अहिले देश टुक्र्याउन सबै नेतृत्व लागि परेको देखिन्छ ।

पृथ्वी नारायण शाहले पश्चिमा इशाईलाई लखेट्नुभएको थियो । वहाँको संदेश थियो पश्चिमाहरुको आशिर्वादमा नेपाली नचल्नु तर, त्यसकै विपरित आफूलाई प्रमाणित गर्नको लागि फादर मून र मदर मून को विवादीत संस्थालाई नेपालमा बोलाएर सरकार पश्चिमा संस्थाको एजेन्ट बनेर उच्चस्तरको नेताले आशिर्वाद समेत लिएका छन् ।

मन्दीर र गुम्बाहरुले भरिएको देशमा कुना कुना सम्म पुग्ने गरि चर्चहरु खुलेकै छन् । बुद्ध जयन्तिको कुनै हल्ला नहुने देशमा उनै पृथ्वी नारायण शाहले लखेटेका इशाईहरुका मसिहा यशुको जन्मदिन देशका कुना कुनामा समेत धूमधामका साथ मनाइएकै छ । प्रचार कम होला भनेर मिस नेपाललाई समेत प्रयोग गरिएकै छ ।

अब , त्यो एकदिन एकता दिवसको दिन सार्वजनिक विदा दिएर वा राज्यले मनाइदिएर के अर्थ ? जब देश पुरै पृथ्वी नारायण शाहको उपदेश विपरीत चलिरहेको छ । वहाँले एकीकरण गर्नुभएको राज्य टुक्रा टुक्रा भैसकेको अवस्थामा एकीकरणको नारा लगाएर के फाइदा ? पृथ्वी नारायणबाट लखेटिएका पश्चिमा इशाईहरुको आशिर्वाद र दया-माया लिएर देश चलाइएको अवस्थामा अब आफ्नो राष्ट्रको पक्षमा बोल्ने पृथ्वी नारायण शाहको गुणगान गाइरहनु यसै पनि आवश्यक देखिदैन ।

देशमा ब्यापार घाटा चलेको छ । देशमा कुनै उद्योग र उधमी गर्नसक्ने युवा दुवै बाँकी नै छैनन् । सबै जातजाति मिलेर बसेको देशमा जाति-जाति बिच फूट आइसकेको छ । देशमा अधिकांश नागरिकमा देश एकीकरण गरिदिने पृथ्वी नारायण शाहप्रति कुनै सम्मान नै छैन । पृथ्वी नारायण शाहको शालिकमा थुक्नेहरु शीर ठाडो पारेर हिडेका छन् । पृथ्वी नारायण शाहका सन्तानलाई हिड्न र बोल्न समेत प्रतिवन्ध लगाउनुपर्ने नारा लगाइएको छ । यस्तो अवस्थामा के पृथ्वी जयन्ति मनाउनु मात्र समाधान हो ? बरु यस्तो पृथ्वी जयन्ति नै (एकता दिवश) खारेज गरिदिए हुन्छ ।

लेखक : @sneupane1

यो लेख तपाइँहरुलाई कस्तो लाग्यो ? आफ्नो बिचार राख्नुहोला तथा चित्त बुझे सक्दो share गरेर सबैमाझ पुर्याईदिनुहोला