मंसिर १८ काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्बुले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडक खण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागु औषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पुजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल डाइजेल्याव बरामद गरेको जानकारी दिएका हुन् ।

त्यस्तै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एकजनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षामा खटिएको टोलीले तीन थान सुनको बालासहित धनुषा गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका महमदबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।