काबुल । प्रायजस्तो समय अशान्त भइरहने अफगानिस्तानको दक्षिणी प्रान्त हेलमन्डमा मङ्गलबार भएको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु भएको छ ।

मारिएका यी सर्वसाधारणमा १० बालबालिका र आठ महिला रहेका छन् । अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघ मिसनले शुक्रबार सो जानकारी दिएको छ ।

हेलमन्ड प्रान्तको गर्मसेर जिल्लामा तालिबान लुकेर बसेको आशंकामा सरकारी सुरक्षाफौजले गरेको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य तीनजना घाइते भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसन “युएनएनएमए” द्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सन् २०१७ को यसै अवधिमा भएका हवाई कारबाहीमा भएको नागरिक हताहतको तुलनामा यस वर्ष बढेको मिसनले जानकारी दिएको छ ।

यस वर्षको जनवरी १ देखि सेप्टेबर ३० सम्म आतङ्ककारी लक्षित हवाई कारबाहीका छ सय ४९ सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । यो सङ्ख्या सन् २००९ देखि हालसम्मकै सबैभन्दा बढी भएको युएनएनएमएले जानकारी दिएको छ ।