काठमाडौं, २७ असार लाइभ एन.पी : – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार कुनै जादूको छडी नभएको बताएका छन् । जादूक छडी नभएकै कारण सरकारले ५ महिनामै सडकका सबै खाल्डा पुर्न नसक्ने पनि उनले बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र त्यस मातहतका विभागहरुको बिनियोजित बजेटमाथि राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफू शक्ति केन्द्रित गर्ने पक्षमा नरहेको बताए । आफ्नो उद्देश्य शक्तिशाली बन्ने नभई संघीयतालाई बलियो बनाउने भएको तथा मुलुकलाई सम्वृद्ध बनाउनको लागि मन्त्रिपरिषद कार्यालय मातहतमा केहि विभाग थपिएको प्रधानमन्त्रीको स्पष्टता थियो ।

मन्त्रिपरिषद् कार्यालयमा बजेट धेरै विनियोजन गरेको भन्ने सांसदहरुको जिज्ञासामा ओलीले सरकारले खर्चमा मितव्ययिताको नीति लिएको बताए। उनले विभागहरुमा छुट्याइएको बजेट प्रधानमन्त्री कार्यालयले खर्च गर्ने नभई सोही विभागले नै खर्च गर्ने स्मरण गराए ।

आफू सत्यसंग नडराउने कुनै शक्तिसँग नझुक्ने नीति अनुसार अगाडी बढ्ने तथा मितव्ययिताको रुपमा प्रधानमन्त्री कार्यालयमा चिनी नहालेको चिया खाने प्रचलन रहेको पनि उल्लेख गरे। प्रधानमन्त्री ओलीले सांसदहरुलाई आफू जस्तो प्रधानमन्त्री पाउनुमा उनीहरुले गर्व गर्नुपर्ने पनि बताए ।

 यसमा तपाइको आफ्नो विचार तलको कमेन्ट बक्समा राख्नुहोला