काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराजलाई अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

मानसिक स्थिति असामान्य भएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएपछि उनलाई लठ्याउने सुई लगाएर काठमाडौं ल्याइएको थियो । विमानबाट काठमाण्डांै ल्याउने तयारी गरिएता पनि विमान कम्पनीले यज्ञराजलाई ल्याउन नमानेपछि उनलाई गाडीमा ल्याइएको हो ।

यज्ञराजलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । कंचनपुरबाट शिक्षण अस्पताल ल्यार्र्इ पुर्याउदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । उनको उपचारमा डा. तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ । बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा उनको खुट्टामा पनि समस्या भएको हो । एक्सरेको रिपोर्टमा उनको खुट्टा फ्याक्चर भएको देखिएको छ ।

उनलाई अस्पताल कै मानसिक वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ । यात्रामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले तीन जना सुरक्षाकर्मी समेत पठाएको थियो । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै यज्ञराज र उनको परिवार सरकारलाई अनुसन्धानमा दबाव दिन धर्नामा बसेका थिए ।