काठमाडौं, ११ असार लाइभ एन.पी : प्रधानमन्त्री ओली यतिबेला करीब दुइ तिहाइको किलो ठोकेर सत्तामा रहेका छन् । सबैलाई थाहा भएकै कुरा हो , दुइ तिहाइले चाहेमा जे पनि गर्न सक्छ । यहाँसम्म कि संविधान नै समेत परिवर्तन गर्न सक्छ । यसैबाट अन्दाज हुन्छ कि सरकार कति शक्तिशाली छ र उसले चाहेमा ठूलै परिवर्तन गरिदिन सक्छ ।

आजसम्म ओली प्रधानमन्त्री भएदेखिको क्षण गणना गर्ने हो भने धेरै परिवर्तन गर्न सकिने दिनहरु खेर गईसकेका छन् । एउटा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहि हप्ता अघि भन्नुभयो , ” अबको केहि वर्षमा काठमाण्डौ बासीले राम्रोसँग श्वास फेर्न पाउने छन् । ” रेल र पानीजहाजका सपना देखाउने ओली अब यतिबेला जनतालाई राम्रोसँग श्वास फेर्न पाउने आश्वासन दिँदै थिए । राम्रो सँग श्वास फेर्न पाउनु त प्रकृतिले नै दिएको अधिकार हो । तर , मेलाम्ची आयोजना जसले समयमा काम नगरेर काठमाण्डौ बासि र सरकारलाई नै धोका दिएको छ त्यतातर्फ भने ओलीको पटक्कै ध्यानाकर्षण थिएन । काठमाण्डौमा उडेको धूलोलाई तत्काल कसरि समाधान गर्न सकिन्छ ? एसियाकै सबै भन्दा फोहोर बनेको काठमाण्डौ शहरले नेपालको अन्तराष्ट्रिय स्तरमै बेइजत गराएको छ आदि इत्यादि बारे ओली बेखबर देखिन्थे ।

वास्तविकता त यो थियो कि उनलाई त केवल सपना बाड्नु थियो र अर्कोपाली हुने निर्वाचन समेतलाई लक्ष गरेर ५ वर्षको बहुमत पाएको सरकारले जनतालाई १० वर्षे सपना देखाउनु थियो । ता कि , ५ वर्षमा आफ्नो कार्यकाल पूरा भएपछी भन्न पाइयोस , ” हाम्रो योजना १० वर्षको थियो , तर बिचमै काम गर्ने अवसर नै नपाएकोले पुरा गर्न सकिएन । ” ओलीलाई बिश्वास थियो , अर्कोपालि निर्वाचनमा यसैलाई नारा बनाउन सकिन्छ ।

यत्तिकैमा अर्को एउटा ठूलो घटना आयो र आफैं सेलायो । घटना थियो , फौजदारी मुद्दा लागेका सांसदको पद रद्द हुने कि नहुने ? यो घटनामा सिधै नेपाली काँग्रेसलाई अघि सारियो र भनियो , ” ए यो मुद्दा पारित भयो भने त काँग्रेसले संसद नै चल्न दिदैन , त्यसैले काँग्रेसको जिदको अगाडी हामीले हार्यौं । ” तर, यो घटना त सुनियोजीत थियो । तैले कुटे जस्तो गर् , म रोए जस्तो गर्छु भन्ने नाटक मात्र थियो । यहि घटनाबाट थाहा हुन्थ्यो कि सत्ता पक्ष र प्रतिपक्ष दुवै कतिसम्म गिरेको छ । प्रतिपक्ष भन्दा पनि बढी गल्ति सरकार पक्षको देखिन्थ्यो किनकि यस्तै अवस्थासँग समेत जुध्न नसक्ने सत्तापक्षको दुइ तिहाइको घमण्ड के का लागि थियो त उसोभए ?

सून काण्डमा पनि त्यस्तै नतिजा देख्न पाइयो । ठूला माछा र साना माछा भन्दै जनतालाई अलमल पारियो । घटना खोतल्दै जाँदा आफ्नै सहपाठी पर्ने डरले हत्त न पत्त घटनालाई सर्वोच्चको जिम्मा लगाइयो ता कि वर्षौ वर्ष झुलाईरहन सकियोस् । दुइ तिहाइ बहुमत भएको सरकारले चाहेको भए दुइ दिन भित्रमा सबै कुराको सत्य तथ्य पत्ता लगाउन सक्थ्यो तर त्यसो भएन ।

भारतीय प्रधानमन्त्रि मोदीको भ्रमणमा नेपालको झण्डाको बेइजत हुँदा ओली त्यसकै अघि बसेर सलाम ठोक्दै थिए । सायद त्यतिबेला उनलाई निकै गर्वको महशूस भएको थियो । आफू भन्दा अघि देउवा प्रधानमन्त्री हुँदा बोल्न नजानेको भनेर देउवाको बेइजती गरिएको थियो तर आफ्नै पालामा राष्ट्रिय झण्डाकै अपमान हुँदा समेत प्रधानमन्त्री ओलीको बेइजती भएको मानिएन ।

सपना बाँडेर कहिल्यै नथाक्ने ओली सरकार यतिबेला काठमाण्डौको प्वाल परेको सडक अनि डुंग दुंगी गनाउने राजधानीमा बसेर पूर्वप्रधानमन्त्री , पूर्व राष्ट्रपति लगायतलाई लाखौं लाख मासिक सेवा सुविधाको योजना ल्याउदै छ । भारतिय नाकावन्दी पश्चात राष्ट्रवादी कहलिएका ओलीको राष्ट्रवाद खालि उखान टुक्काका सपना मात्र हुन् भनेर प्रमाणित गर्नको लागि सायद ओली सरकार यतिबेला लालयित भएको देखिन्छ  ।

यसमा विपक्षीले पनि बिरोध गर्ने छैन त्यो निश्चित छ किनकि पूर्व प्रधानमन्त्री आफैं भएको हैसियतमा पूर्व प्र.म देउवाले भुलेर पनि त्यो कुराको विरोध गर्न सक्ने छैनन्   । यो देशमा यसैगरी प्रतिपक्ष र सत्तापक्ष मिलेर जनतालाई झुक्काइ झुक्काइ आफ्नो दूनो मात्र सोझ्याउने छन् र जनता भने सधैं उल्लु बनेर दिउँसोभरि आँखा नदेख्ने तर रातिभएपछी लाटोकोसेरो बनेर चिच्याउदै हिड्ने छन् ।

ओलीले पछिल्लो निर्वाचन पश्चात आजसम्म जतिपनि दिन नेपालमाथि सासन गरे , उनले राष्ट्रवादी देखिने जस्ता केहि पनि काम गर्न सकेका छैनन् । यो जनताको भनाइ हो । भारतीय प्रधामन्त्रीको भ्रमणमा देखिएको निर्लज्जता , चिन भ्रमणमा देखिएको ११९ सदस्सिय जम्बो टोलीको चिन भ्रमण लगायतले नेपालको अन्तराष्ट्रिय स्तरमा समेत छवी यतिबेला गिरेको छ ।

संक्षेपमा भन्ने हो भन राष्ट्रवादी कहलिएका ओली सरकारले पछिल्लो निर्वाचन पश्चात जनतालाई सून काण्ड , सांसदलाई फौजदारी अभियोग काण्ड , मोदी भ्रमण काण्ड र अहिले पूर्व पदाधिकारीलाई सुविधा दिने काण्ड र टुटे फुटेका सपना बाहेक अरु केहि पनि दिन सकेका छैनन्  । सत्ता पक्षले हरेक गलत कार्य गरिरहदा प्रतिपक्षको समेत त्यसमा पूर्ण समर्थन देखिने गरि प्रतिपक्ष किन हरेक कुरामा मौन छ ? यी र यस्ता प्रश्न अनि विचार अहिले सामान्य जनताको मनमा खड्किइरहेको छ ।

ओली सरकार ! यतिबेला जनतालाई टुटेफुटेका सपना हैन , कार्यशैली चाहिएको छ । जनतालाई अब केहि वर्षमा स्वाश्व फेर्न पाउनुहुन्छ भनेर योजना बाड्ने हैन बरु त्यहि दिनबाट धूलो कम  गर्ने कार्य अघि बढाउने वा मेलाम्चीलाई कडाइ गर्ने कार्य गर्न किन सक्नुभएन ? काठमाण्डौ एसियाकै फोहोर र प्रदूशीत शहर भनेर अन्तराष्ट्रिय मेडियामा नाम आउदा र काठमाण्डौका सडकका खाल्डामा पानि जमेका देख्दा तपाइको रेल र पानी जहाजका सपना फिक्का लाग्छन कि लाग्दैनन् ? प्रतिपक्ष संग डराएको नाटक गर्नु अघि फौजदारी मुद्दा लागेका संसद रहिरहने कुरा सरकारको सहमति विना प्रमाणित हुन सक्छ ? सून काण्डका ठूला माछा को हुन् ? कोहि कतै यहाँकै सहयात्री त त्यसमा छैनन् ? मोदी भ्रमणमा नेपालको झण्डाको बेइजती हुँदा यहाँको शीर झुकेन ? चिन भ्रमणमा ११९ जनाको जम्बो टोलि लिएर जानुको अर्थ के थियो ?  पूर्वपदाधिकारीहरु लाई अनावश्यक सुविधा दिन खोज्नु भनेको प्रतिपक्ष फकाउन खोज्नु हो या भोलि आफूलाई पद सक्किएपछी काम लाग्छ भनेर आफ्नो सुल्टो पारिएको हो ? यो कस्तो राष्ट्रवाद हो ओली सरकार ? यो कस्तो राष्ट्रवाद हो ? यस्ता अनेक प्रश्न यतिबेला जनताले ओलीलाई सोध्न चाहन्छन ।

पूर्व प्रधानमन्त्री र पूर्व राष्ट्रपति लगायतलाई सेवा र सुविधा दिने निर्णय गर्दै हुनुहुन्छ भने याद गर्नुहोस ओली सरकार ,  राष्ट्रवाद र राष्ट्रघात” मा केवल दुइ अक्षरको फरक हुन्छ ! ओलीलाई जनताले के भन्ने ? त्यो अब जनताले नै रोज्ने छन् ।

लाइभ एन.पी सम्पादकीय

यसमा तपाइँको विचार के छ ? आफ्नो बिचार राख्नुहोला