काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते कास्की–२ मा उपनिर्वाचन हुने मिति तोकेको छ । अब निर्वाचन आउन चार महिना पनि बाँकी छैन । प्रमुख राजनीतिक दलहरूले कास्की २ मा कसलाई उम्मेदवार बनाउने भनेर अहिलेसम्म कुनै छलफलसमेत चलाएका छैनन् । सो निर्वाचन क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले सिट खाली थियो । गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीले ज्यान गुमाएका थिए ।

अधिकारीको उत्तराधिकारी को हुने भन्ने विषयले अहिले नेकपामा भित्रभित्रै चरम लफडा परेको छ । नेकपाका प्रभावशाली नेता वामदेव गौतमले कास्की २ मा उठ्ने इच्छा राखेका छन् । उनी आफैंले भने मुख खोलेका छैनन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाट पहल होस् र प्रस्ताव होस् भन्ने उनको अपेक्षा छ । सोही कारण पछिल्लो समय ओली र गौतमबीच सम्बन्ध सुदृढ बन्दै गएको छ ।

तर, केही दिनयता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले आफू राजनीतिमा आउन तयार रहेको जनाउ दिएकी छन् । उनले केही मिडियालाई अन्तर्वार्ता दिँदै आफू हाल त्रिविको स्थायी उपप्राध्यापक भएकाले केही नसोचेको तर पार्टीले कास्की २ मा उम्मेदवार उठ्न आग्रह तयार रहेको उल्लेख गरेकी छन् । विद्याले नै आफूले उठ्ने घोषणा गरेमा नेकपामा कुनै नेताको केही जोड चल्दैन । किनभने रवीन्द्र अधिकारीको सहानुभूति विद्याले जति अरुले पाउन सक्ने अवस्था छैन ।

तर, आफूलाई पार्टीका शीर्ष नेताहरूबाट उपेक्षा भएको उनले महसुस गरेकी छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले आफूसँग उपनिर्वाचनको विषयमा कुनै सरसल्लाह नगरेको उनको गुनासो छ । पार्टी शीर्ष नेताको उदासीनताको पछाडि आफूलाई उम्मेदवार नबनाउने हो कि भन्ने उनमा चिन्ता देखिएको छ ।