काठमाडौं । नेपाल धार्मिक तथा संस्कृतिक हिसाबले धेरै धनी देशको रुपमा चिनिन्छ । यहाँ हिन्दू, बौद्ध, जैन, मुस्लिम, क्रिश्चियन, सिख, किराँती लगायतका थुप्रै धर्मका अनुयायीहरु वर्षौदेखि बस्दै आएका छन् । जसले विविधतामा एकताको परिचय दिने गरेको छ । सायद नेपालमात्रै एउटा यस्तो देश हो, जहाँ हरेक महिना एउटा न एउटा चाड पर्व पर्ने गर्दछ । यहाँका हरेक चाड तथा सांस्कृतिक परम्पराले एउटा छुट्टै मौलिकता बोकेको छ । शास्त्रकाअनुसार मनुस्यको प्रवृति उसको खानपिनले झल्काउँदछ भने जस्तै यहाँको हरेक चाडबाड खानपिनसँग सम्बन्धित छ, चाहे त्यो महान चाड बडा दशैं होस् वा अन्य कुनै चाडपर्व ।

साउन महिनालाई चाड पर्वको महिना पनि भन्ने गरिन्छ। यो महिना थुप्रै चाड पर्वहरु पर्ने गर्दछन् । यो महिना पर्ने केहि चाड जस्तै खीर खाने दिन, नाग पञ्चमी, रक्षा बन्धन, जनै पूर्णिमा (क्वाटी खाने दिन), गाइजात्रा, रोपाइँ जात्रा र कृष्ण जन्मअष्टमीले हिन्दू अनुयायीहरुका लागि ठूलो औचित्य राख्दछ । त्यस्तै साउन महिनामा पर्ने महान चाड जनै पूर्णिमा वा रक्षा बन्धन वा क्वाँटी खाने दिनले पनि विशेष महत्व रख्दछ।

हिन्दु पञ्चाङ्गअनुसार जनै पूर्णिमा साउन वा भदौ महिनाको पूर्णिमाको दिनपर्ने विशेष पर्व हो। यो पर्व विभिन्न क्षेत्रका फरक फरक समुदायहरुले छुट्टाछुट्टै तरीकाले मनाउने गर्दछन् । ब्राह्मण र क्षेत्री समुदायले यस दिनलाई जनै पूर्णिमाको रुपमा मनाउँने गर्दछन् । त्यस्तै नेपालका नेवार समुदायले यस दिनलाई क्वाँटी खाने पूर्णिमाको रूपमा मनाउने गर्दछन् भने मुख्य रूपमा नेपालको तराई क्षेत्रका बासिन्दाहरूले यस चाडलाई रक्षाबंधन वा राखीको रूपमा मनाउँने गर्दछन् । यद्यपी, आजभोलि धार्मिक सहिष्णुता मौलाएका कारण यो चाड सबै मिलेर मनाउने गर्दछन् चाहे त्यो नेवार समुदायले राखी बाँधेर होस् वा तराईका बासिन्दाहरुले क्वाँटी खाएर होस्।

जनै पूर्णिमा हिन्दू धर्मको सबैभन्दा पवित्र र महत्त्वपूर्ण चाड मध्ये एक हो। यस चाड शुद्धता, सुरक्षा र शान्तिको प्रतिक हो । यस दिन नेपाली हिन्दु समुदायका ब्राह्मण , क्षेत्री र नेवार समूहका पुरुषहरुले आफूले अघिल्लो जनै पूर्णिमाको दिन धारण गरेको जनैलाई परिवर्तन गर्ने गर्छन् । जनै एउटा पवित्र धागो हो, जुन हिन्दू विशेष गरी ब्राह्मण र क्षेत्री र नेवार समुदायका पुरुषले आफ्नो छातीमा लगाउने गर्दछन् । यस चाडको अघिल्लो दिन, जनै लगाएका पुरुषहरुले दाह्री वा कपाल काटी सफा बस्ने गर्दछन् र चाडको दिन पनि पवित्र ताल, पोखरी वा नदिमा स्नान गरि आफ्नो गुरु वा पुरेतकासामू आफूले धारण गरेको पुरानो जनै त्यागी नयाँ जनै लगाउने गर्दछन् । यसदिन केवल एकचोटी मात्र भोजन गर्ने भएका कारण स्वच्छ र सात्विक खानेकुराहरु मात्र खाने गर्दछन् ।

यसै चाडका दिन हजाराँै श्रद्धालुहरु विभिन्न तीर्थस्थल जस्तै काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र भक्तपुरस्थित डोलेश्वरलगायत जस्ता अन्य अरु भगवान शिवको मठ मन्दिरमा पुगेर पूजा अर्चना गर्ने गर्छन् । त्यस्तै आफ्ना पापहरुलाई पखाल्न विभिन्न नदि, ताल वा पोखरीहरुमा जाने र स्नान गर्ने गर्छन् । यसै दिन रसुवा जिल्लाको गोसाईकुण्ड तालमा धेरै ठूलो धार्मिक मेला लाग्ने गर्दछ भने जनकपुरमा गंगा धनुस सागर र त्रिवेणीधाममा पनि मेला लाग्ने गर्दछ।

जनै के हो ?
जनै कपासबाट बनेको एउटा पवित्र धागो हो, जसलाई विशेष नियमानुसार बनाइ विशेष मन्त्रोचारण गरेर तयार पारिएको हुन्छ । यसलाई यज्ञोपवित वा ब्रह्मसूत्र पनि भन्ने गरिन्छ। जनै हिन्दु पुरुषहरुले धारण गर्ने गर्दछन् । यो विशेष गरि ब्रतबन्ध पछि मात्र धारण गर्ने गरिन्छ। ब्रतबन्ध अर्थात चुडाकर्मको दिन गुरु वा विशिष्ट श्रेणीका पुरोहितबाट गायत्री मन्त्र ग्रहण गर्नुका साथ साथै यसलाई धारण गर्ने चलन छ। जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक र अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ  । जनैमा विभिन्न चरण पार गर्दै अन्तिममा बनाइएको ६ डोराको धागो हुन्छन् जसले मानिसको बल, वचन र बुद्धिलाई प्रतिनिधित्व गर्दछ र जब यसलाई पुरुषको छातीमा गाँठो पारिन्छ तब त्यस पुरुषले आफ्नो बल बुद्धि र वचनलाई नियन्त्रण प्राप्त गरि, सहि ठाउँमा मात्र प्रयोग गर्नुपर्ने भनेर ब्रतवन्धको दिन ज्ञान दिने चलन छ। साथै अर्को अर्थमा जनैले पुरुषको पुरुषार्थलाइ जनाउँदछ र यसले धर्म र सत्यको मार्ग अनुशरण गर्नलाई उत्प्रेरित गर्दछ । जनै गुरुबाट मन्त्र प्राप्त गरिसकेपछि पुरुषले यसलाई हरेक दिन धारण गर्नुपर्ने नियम छ। यसलाइ बायाँ घाँटीबाट दायाँ कम्मर तर्फ झारेर धारण गरिन्छ ।

हिन्दु धार्मिक मान्यता अनुसार जनैका श्रीजक भगवान ब्रह्माल गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ र यसलाई धारण गर्दा हिन्दु धर्मका तीनै महान भगवानको आशिष पाउने मान्यता छ। साथै सबै पवित्र हिन्दू पाण्डुलिपीमा जनैलाई ईश्वरीय शक्तिको रूपमा उल्लेख गरिएको छ, जुन मानव जीवनको सबै महत्त्वपूर्ण पक्षहरूसँग जोडिएको छ। तसर्थ, यस तागा (जनै)लाई जसले धारण गर्दछ उसलाई ज्ञान, बुद्धि, शक्ति, समृद्धि हरदम प्राप्त हुने जनविश्वास छ ।

डोरो
जनै पूर्णिमाको दिन हिन्दु समाजमा आफ्नो नाडीमा रक्षा बन्धन पनि बाध्ने गर्दछन् जसलाई बोलीचालीको भाषामा डोरो पनि भन्ने गरिन्छ। सामान्यतया पुरुषहरू दायाँ नाडीमा यस धागोलाई बाँध्ने गर्छन् भने महिलाले आफ्नो हातको बायाँ नाडी यस धागो बाँध्ने गर्छन् । साथै यस रंगीविरंगी डोरो बाध्न श्रद्धालुहरु विभिन्न मठ मन्दिर जाने गर्दछन्, यसदिन बाँधेको डोरो लक्ष्मी पूजा वा गाई पूजाको दिन फुकाली यस डोरोलाई गाईको पुच्छारमा बाँधेर गाईको टाँगमूनिबाट छिरेमा भाग्य प्राप्ति हुनुका साथै मरेपछि स्वर्ग पुग्न बैतरणी खोला पार गर्न मद्दत गर्ने धार्मिक विश्वाश छ ।

राखी
जनै पूर्णिमाको नेपालको तराईसहित हिन्दूधर्मालम्बीहरु भएका भारतलगायतका मुलुकमा राखी बाँध्ने चलन छ । यस दिन दिदीबहिनीहरुले दाजुभाइलाई राखी बाँधिदिएर उनीहरुको सुस्वास्थ्य, दीर्घायूको कामना गरिन्छ । दिदीबहिनीले आफ्नो दाजुभाइको आरति गर्छन् र दाजुभाइले यसको बदला दिदीबहिनीलाई विशेष उपहार वा दक्षिणा दिने गर्दछन् । आफ्नो दिदीबहिनीलाई सबै परिस्थितिमा हेरचाह गर्ने वाचा दाजुभाइले गर्दै एकसाथ बसेर फलफूल तथा मिष्ठान्न भोजन गर्ने र गराउने चलन छ ।

क्वाँटी पूर्णिमा र गुन्ही पुन्ही

त्यसैगरी जनै पूर्णिमा दिनलाई नेवारी समुदायमा क्वाँटी पुर्णिमा वा गुन्ही पुन्ही पनि भन्ने गरिन्छ। क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन् । यसलाई ३ – ४ दिन पानीमा भिजाएर त्यसमा टुसा उम्रिएपछि त्यसलाई झोलिलो बनाएर पकाइन्छ र खाने गरिन्छ । यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान पनि सकिन्छ । काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । जनै पूर्णिमा नेवार किसानहरूले भ्यागुताहलाई क्वाँटी खुवाउने गर्दछन् । भ्यागुता, जसलाई वर्षाका देवताको अभिकर्ता मानिन्छ, उनको पूजा गर्दा वा व्यागुतालाई क्वाँटी खुवाएमा बालीको उत्पादन बढाउन सहयोग गर्दछ भन्ने विश्वास छ ।