काठमाडौं मंगलबार सडक दुर्घटना र हाइ अल्टिच्युटका कारण गम्भिर बिरामी परेका दुई बिरामीलाई राजधानीका दुई अस्पतालले हेली उद्धार गरेर उपचार गरेका छन ।

चाबहिलस्थित ॐ अस्पतालले चितवनमा सडक दुर्घटनामा गम्भिर घाइते भएका प्रेम बहादुर चौधरीको उद्धार गरेर उपचार अगाडि बढाएको छ भने ह्याम्स अस्पतालले हाइ अल्टीच्युटले बिरामी परेकी एक महिलाको हेली रेस्क्यु मार्फत उद्धार गरेको हो।

सिन्धुपाल्चोकको पाँचपोखरीमा ४२ सय मिटरमाथि लेक लाग्दा स्थानिय एक महिलाको स्वास्थ्य गम्भीर भएपछि उनको एयर डाईनेष्टीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उनको अहिले डाक्टर बिना गुरुङको टिमले उपचार गरिरहेको छ । ह्याम्सले भौगोलिक विकट र स्वास्थ्यमा गम्भीर समस्या देखिएको नागरिकको हेलिकप्टरमार्फत उद्धारसँगै उपचार गर्ने लक्ष्यका साथ साउन २० गतेबाट एयर एम्बुलेन्स सेवा सुरु गरेको थियो।

यस्तै ॐ अस्पतालले सडक दुर्घटनामा गम्भिर घाईते भइ भरतपुरस्थित एक अस्पतालमा प्रारम्भिक उपचार गराइरहेका चौधरीलाई काठमाडौं ल्याएर उपचार प्रक्रिया अगाडि बढाएको छ।

उनको टाउकोमा रगत जमेको, फोक्सो बाहिर रगत जमेको, मिर्गौलामा चोट लागेको, मेरुदण्ड फ्र्याक्चर भएको र पेटमुनी प्यारालाईसिस भएको छ। उनको सघन उपचार कक्षमा डा प्रमेश सुन्दर श्रेष्ठ, डा बिपिन कार्की, डा कजन राज श्रेष्ठ, डा चन्द्रमान प्रजापति लगायतका डाक्टरहरुको टिमले उपचार गरिरहेको छ।
रेस्क्युका लागि ॐ अस्पतालको सघन उपचार कक्षमा कार्यरत इन्टेसिभिष्ट डा। बिपिन कार्की र सघन उपचारका नर्सिङ्ग इन्चार्ज सबिना ढकाल चितवन पुगेका थिए।