पत्रकार शालिकराम पुडासैनीको निधन प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले देहत्याग रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते देहत्याग गरिन् तर त्यसमा न पत्र न त मृतकको कुनै पनि बयान, केही पनि थिएन । मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनी जनआस्था परिवारले माफी माग्दामाग्दै पनि २ वर्षसम्म ज्यानमुद्दा झेल्नप¥यो, रवि लामिछानेहरूले अहिले पनि त्यो प्रकरण बेलाबखत उछालिरहन्छन् ।

अहिले त स्वयं मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोषी किटान गर्दै सजायको माग गरेका छन् । यस प्रकरणमा माफी माग्नु त परै जाओस्, उल्टै मृतकलाई नै लाञ्छित गर्ने काम हुँदैछ ।मानिस किन यति साह्रो अमानवीय हर्कत गर्छ ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार्न तयार हुन्न ? जनआस्थासँग सुरक्षित दुईवटै अडियो/भिडियो टेपमा भएको विवरणमा भनिएको छ, ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पु¥याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पु¥याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्– ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्काे बिहे गर, मलाई माफ गरिदेऊ ।’

आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन्, ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी….कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पु¥याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ । त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँँ ।’

नुवाकोट बेलकोटगढी–३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले देहत्यागको बाटो रोजेको विषय राजनीतिक, कानुनी र पत्रकारिता क्षेत्रमा चर्चाको विषय बनेको छ ।
भ्रष्टाचारमा मुछिएका कर्मचारीले एकपछि अर्काे गर्दै देहत्याग गरिरहेको श्रृंखलामा पत्रकार पुडासैनीको देहत्याग नितान्त फरक छ । कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यसरी दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैया“सम्म जरिवानाको व्यवस्था गरेको छ । उपदफा (१) मा स्पष्ट भनिएको छ– कसैले कसैलाई देहत्याग गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । अखबारमा फोटो छापिएका भरमा पत्रकारलाई लामो समय यातना दिइएको र नायिका श्रीषा कार्कीले गरेको आत्महत्या इतिहासको गर्तमा छ तैपनि जनआस्था टिमले भोगेको पीडा अहिले पनि सेलाइसकेको छैन ।

सर्वाेच्च अदालतले राजेश कोइरालासमेतको जाहेरीअन्तर्गत नेपाल सरकारविरुद्ध विपक्षी सिन्धुली ठोकर्पा गाविस–२ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–७ सिफल बस्ने गोपीकृष्ण न्यौपानेको छोरा तारानाथ न्यौपानेसमेतको मुद्दा (निर्णय नं. १०१४३) मा स्पष्ट व्याख्या गरेको छ । जसमा भनिएको छ, ‘मृतकको पोष्टमार्टम रिपोर्ट हेर्दा, एउटा मात्र घाउको प्रकृति उल्लेख छ । यस प्रकृतिको घटनामा मृत शरीर आफैँले कथा भन्छ । सबै प्रकृतिको हत्याको अकाट्य प्रमाण हुन्न । आत्महत्या गर्दाको मानसिक अवस्था फरक फरक हुने हुँदा त्यसमा एकरूपता खोज्न न्यायोचित हुँदैन ।’ त्यसैगरी, पुनरावेदक र प्रतिवादी गीता सुनारसमेतको जाहेरीले नेपाल सरकारविरुद्ध गोरखा, नाम्जुङ गाविस–२ घर भई काठमाडौं जिल्ला कामपा–१६ बस्ने विष्णु काप्रीसमेतको मुद्दामा (निर्णय नं. १०१४४) प्रतिपादित व्याख्याले अनुसन्धान फितलो गराएर अन्याय गर्ने कार्यलाई रोकेको छ ।

फैसलामा भनिएको छ, ‘जो जसको क्रियाबाट भए पनि व्यक्तिको ज्यान गएको अवस्थामा अनुसन्धान फितलो र कमजोर भएकै कारण कसुरदारले उन्मुक्ति पाउने, पीडितले न्याय नपाउने तथा निर्दोषले सजायँको भागी हुनुपर्ने कुनै पनि विषय कानुनी राज्यमा स्वीकार्य हुन सक्दैन । यसतर्फ न्यायका सरोकारवाला सबै सचेत भई अपराधको सूचना, अनुसन्धान, अभियोजन र सुनुवाइ तथा सुनुवाइपश्चातका कार्यान्वयन पक्ष सबै तहमा कानुन र कानुनका मान्य सिद्धान्तको उचित प्रयोग र व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।’ एक वर्षअघि नै जारी भएको मुलुकी अपराध संहिताले आत्महत्या गर्न दुरुत्साहन गर्ने प्रवृत्तिलाई रोके पनि आजसम्म यसअन्तर्गत कसैलाई सजायँको भागी बनाइएको छैन । सम्भवतः पत्रकार पुडासैनी आत्महत्याको विषय कानुन कार्यान्वयन निकायका लागि पहिलो मुद्दा हुनेछ । जनआस्थाबाट