काठमाडौं । हिन्दू समाजमा विवाहलाई सबैभन्दा महत्वपूर्ण र पवित्र धार्मिक तथा सामाजिक संस्कारको रुपमा हेर्ने गरिन्छ। नेपाली समाजमा विवाह दुई व्यक्ति महिला–पुरुषबीचको मात्र नभएर यसले दुई परिवारबीच कुशल सम्बन्ध स्थापना गर्न समेत मद्दत गर्दछ र साथै समाज र कानुनले पनि यस संस्कारलाई सुरक्षित र वैधानिकता प्रदान गर्छ ।

हिन्दु ग्रन्थ अनुसार मनुस्यको जीवनका चार चरण “ब्रह्मचर्य, गृहस्थ, वनप्रथा र सन्यास“ मध्य विवाह दोस्रो चरणमा पर्दछ। जीवनको दोस्रो चरण गृहस्थले विवाह, धर्म, सन्तान र यौनलाई सम्बोधन गरेको पाइन्छ, यसरी वेद र स्मृतिहरूले विवाहलाई एक प्रमाणित लिखित आधार प्रदान गरेको देखिन्छ । प्रामाणित लिखित आधार प्रदान गरे पनि विवाह कुन युगबाट शुरु भएको हो भनेर निश्चित गर्न भने सकिँदैन।

वेदले हिन्दू धर्ममा विवाह आठ प्रकारको वर्णन गरेको छ, जुन ब्रह्मा, प्रजापत्य, अर्सा, दैव, असुर, गन्धर्व, राक्षस र पिसाक भनेर उल्लेख गरिएको छ । पहिलो चार विवाहका रुपहरुलाई व्यवस्थित गरि विवाह गर्दा त्यसले मागी विवाहलाइ प्रतिनिधित्व गर्दछ किनभने यस विवाहको कार्यहरुमा अभिभावकहरू समावेश हुने गर्दछन् । शास्त्रीय नियमअनुसार आमा हुन महिला र पिता हुन पुरुषलाई सृष्टि गरिएको उल्लेख छ । त्यसैगरी जहिलेपनि धर्मको पालना गर्दा श्रीमान् श्रीमतीसहित सन्ततिले समेत पालना गर्नु पर्ने, जसको पत्नी हुन्छ उसले संसारमा आफ्नो हरेक दायित्व पूरागर्न सक्ने, पारिवारिक जीवन हुने, खुसी जीवन जिउन सकेमात्र उसको पूर्ण जीवन हुने वेदमा वर्णन गरिएको छ ।

त्यसैगरी, विवाहले सृष्टिलाई निरन्तरता दिने र पितृका अन्य धार्मिक र आध्यात्मिक बाटो र कर्तव्यहरुको पूरा वा पालना गर्न मद्दत गर्ने हिन्दु स्मृतिहरुमा उल्लेख गरिएको छ।शतपथ ब्राह्मण ग्रन्थको अभिलेखअनुसार पत्नीलाई अर्धांगिनी भनिने गरिन्छ, जसलाई पतिको आधा भाग भएको र पुरुष विवाह नहुन्जेल आधा हुने र विवाह पश्चात मात्र उसले पूर्ण जीवन व्यतित गर्नसक्ने भनेर सुजाइएको छ। त्यसैगरी श्रीमान् र श्रीमती बीचको आपसी विश्वास उच्चतम धर्म हो भनेर मनुस्मृतिमा घोषणा गरिएको छ ।

महाभारतका अनुसार महिला वा श्रीमतीलाई पोषण वा सद्वाव प्रकट गरेमा सोझै देवीलाई माया गरेझैँ हुने र उसले सदैव समृद्धिको फल पाउने गर्दछ । यसबाहेक हिन्दु शास्त्रीय नियमअनुसार श्रीमती केवल श्रीमानको श्रीमती वा ‘ग्रह पत्नी’ मात्र नभै ‘धर्म पत्नी’ र “शधर्मिणी“ पनि हुन्, उनी उनको पतिको सबैभन्दा राम्रा साथी हुन् । तसर्थ पत्नीलाई धर्म, अर्थ, काम र मोक्षको स्रोत मानिन्छ र मागी विवाह वैदिक कालमा शुरु भएको र समयसँगै समारोह र यसले संस्थाको आकार लिँदै गएको हो।

हिन्दू शास्त्रीय नियमअनुसार विवाहको संस्कारात्मक पक्षका तीन विशेषताहरूः

१. विवाह संस्कारको संगम हो, जसको अर्थ शारीरिक आवश्यकतालाई पूरागर्न मात्र नभई मुख्यतया धार्मिक र आध्यात्मिक कर्तव्यहरूको पालना गर्नका लागि गरिने एक पवित्र संस्कार हो।

२. संस्कारको संगम यानि कि एक पटक विवाह वन्धनमा प्रवेश गरे पछि कुनै पनि हालतमा यसलाई त्याग्न वा विघटन गर्न नमिल्ने।

३. एक संस्कारात्मक मिलन वा संगमको अर्थ, यो आत्मा, शरीर र मनको मिलन हो र केवल एउटा जीवनका लागि मात्र नभएर आउँदा जुनीहरुका लागि र यस लोकमा मात्र नभएर अन्य लोकहरुका लागि हो ।

विवाहकाबारेमा ग्रन्थहरुमा उल्लेख भएका कुरा

१. भागवत गीता– जसरी एउटा योद्धाले आफ्नो शस्त्र प्रयोग गरि शत्रुलाइ परास्त गर्न सक्छ, त्यसरीनै एउटा साधारण व्यक्तिले श्रीमतीको सहयोगले आफ्नो सम्पूर्ण इन्द्रियमाथि नियन्त्रण राख्न सक्दछ ।

२. भागवत पुराण– धार्मिक सिद्धान्तले स्वीकार्य पवित्र पत्नी नहुने पुरुषसँग सधैं विचलित बुद्धि हुन्छ ।

३. भागवत पुराण– घरधनीको अवस्था सबै भन्दा उत्तम तब हुन्छ जब उसलाई उसको पत्नी र परिवारका अन्य सबै सदस्यहरूले समर्थन गर्दछन् ।

४. मनु स्मृति– भाग्यको द्वार त्यहाँमात्र खुल्दछ जहाँ पति र पत्नी बीच सुमधुर सम्बन्ध रहेको हुन्छ ।

५. नीति शास्त्र– विवाह सधैं एक उच्च उद्देश्य को लागि हो। भगवानको सृष्टिमा पुरुष र महिलाको मिलन यौन जीवनको लागि मात्र नभएर भगवानको भक्तिका लागि रहेको भनेर उल्लेख गरिएको छ।