सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ ।

सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताउनुभयो । “स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले भत्ता दिने निर्णय गत वर्ष गरेको थियो”, संयोजक विष्टले बताए । “नगरपालिकाले नगरभित्रका महिलाको सवालमा यस्तो पहल गरेको हो ।”

सुत्केरी भएपछि २४ घण्टा, तीन दिन र सात दिनमा गराउनुपर्ने स्वास्थ्य जाँच नियमितरूपमा गर्ने महिलालाई रु ५०० दिने व्यवस्था नगरपालिकाले गरेको छ । गत आर्थिक वर्ष नगरपालिकाले प्रोत्साहनस्वरुप स्वास्थ्य जाँच गराउँदा रु ३०० का दरले भत्ता वितरण गरेको थियो । “चालू आवबाट भत्ता रकम बढाएर रु ५०० पु¥याएका छौँ”, विष्टले बताए “नियमित जाँच नगराउँदा रक्तश्राव र बच्चाको तौल कम हुनेजस्ता समस्या देखा पर्न सक्छन् ।”

स्वास्थ्य जाँच गराएवापत प्रोत्साहन रकम पाइने भएपछि नगरपालिकाका अधिकांश सुत्केरी महिलाले नियमित स्वास्थ्य जाँच गर्न थालेको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा भने ४४३ महिलाले सुत्केरीपछि नियमित स्वास्थ्य जाँच गराएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी चालू आवदेखि नगरपालिकाले ‘उपप्रमुख’ सुत्केरी स्याहार कार्यक्रमसमेत लागू गरेको छ । सो कार्यक्रमबाट सुत्केरी महिलाले रु दुई हजार बराबरको सामान पाउनेछन् । विष्टका अनुसार ७५ प्रतिशतभन्दा बढी महिलाले नियमितरूपमा सुत्केरीपछिको स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

नगरपालिकामा आर्थिक २०७४÷७५ मा ५४९ महिला सुत्केरी भएकामा ५२ महिला मात्रै नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा आएका थिए । रासस