काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । मंगलबार बिहान अमेरिकी दूतावास पुगेका लामिछानेलाई अमेरिका जान भिसा नदिएको हो ।दूतावासले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकामा हुन गइरहेको सीपीएल लिग गुमाउने भएका छन् । दूतावासले भिसा दिन अस्वीकार भएपछि आफू आश्चर्यमा परेको सन्दीपले जनाएका छन् ।

सन्दीपले खेलाडीका रूपमा आफूलाई भिसा दिन सहयोग गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गरेका छन् ।सन्दीप अन्तर्राष्ट्रिय नेपाली क्रिकेटर हुन् । उनले एकै वर्षमा नौ देशमा क्रिकेट क्लबबाट खेलिसकेका छन् । भर्खरै उनी क्यानडा लिग खेलेर नेपाल फर्केका हुन् । सन्दीपले भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्टइन्डिजलगायतका देशमा क्रिकेट खेलिसकेका छन् ।