काठमाडौं । सप्तरी–१ बाट निर्वाचित सांसद डा.सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । उनी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् । आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद यादवले बताएका छन् ।

‘मलाई डाइबिटिजलगायत समस्या थियो। पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो, त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ,’ राजीनामापछि यादवले भने ।यादवको राजीनामा स्वीकृत भएमा उक्त क्षेत्र रिक्त हुनेछ । त्यसपछि पुनः चुनाव गराउनुपर्छ ।

यादवले राजीनामा दिएपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तनावमा परेका छन् । डा.यादवको छवि सप्तरीमा राम्रो छ । अब निर्वाचन हुँदा समाजवादी पार्टीले नै जित्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

किनभने पछिल्लो समय उपेन्द्रको पार्टीप्रति जनतामा राम्रो सन्देश छैन । हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ । कास्कीमा आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ ।