काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुबई भ्रमण र प्रकाश दाहालको नाम जोडेर विभिन्न मिडियामा आएका समाचारको प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले मंगलबार विज्ञप्ति जारी गर्दै हालै प्रचण्डको दुबई भ्रमण र प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रहेको भन्ने समाचारप्रति खेद प्रकट गर्दै पुष्टि गर्न चुनौती दिएका छन् । उनले प्रचण्ड परिवारलाई बदनाम गर्न कुत्सित मनसाय भएका केही व्यक्ति र शक्ति लागेको आरोप लगाएका छन् ।

‘अध्यक्ष प्रचण्डको दुबई भ्रमणको विषयलाई लिएर कुत्सित मनसाय भएका व्यक्तिहरू उहाँको बदनाम गर्न उद्यत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरूको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । प्रचण्ड परिवारले यस्तो झुटो समाचार प्रकाशित र प्रसारित गर्ने व्यक्ति र संस्थालाई कानुनअनुसार कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ ।

दुई साताअघि मात्रै प्रचण्ड पत्नी सीता दाहाल र दुई छोरी रेणु दाहाल र गंगा दाहाललाई लिएर दुबई भ्रमणमा गएका थिए । सोही भ्रमणलाई लिएर नेपालमा विभिन्न अड्कलबाजी सुरु भएको थियो ।