काठमाडौं । हाल चर्चामा रहेको कश्मीरमा राजा महेन्द्रले २०१७ सालमा भ्रमण गरेको प्रमाण भेटिएको इतिहासकारहरूले लेखेका छन् । बीबीसीका अनुसार सत्र सालमा बीपी कोइरालाको सरकारलाई अपदस्थ गर्नुअघि महेन्द्र कश्मीर पुगेका थिए ।

सन् १९६० को जुलाईमा भारत प्रशासित कश्मीरमा भएको महेन्द्रको भ्रणमको उद्देश्यबारे पनि इतिहासकारहरूले खासै खुलाउन सकेका छैनन् । तर उक्त विवादित भूमिमा सन् १९४७ पछि भ्रमण गर्ने नेपालका उच्च व्यक्तित्वमा राजा महेन्द्र मात्र रहेको देखिएको कूटनीतिक इतिहासका जानकारहरू बताउँछन् ।

कश्मीरी लेखक जीएल कौलको पुस्तक ‘कश्मीर थ्रु द एजेज (५००० बीसी टू १९६७ एडी) ः अ हिस्टोरिकल सर्भे’ मा सन् १९६० जुलाई ८ मा राजा महेन्द्र रानीसहित कश्मीरको राजधानी श्रीनगर पुगेको उल्लेख छ (पृ.१८२)।

उनी लेख्छन्, ‘राजा महेन्द्र र उनकी रानी जुलाई ८ मा श्रीनगर आइपुगे । त्यहाँ राज्यको सेनामा गोर्खाहरू रहेका थिए, त्यसमध्ये केहीले अचल सम्पत्ति प्राप्त गरेका थिए। तर नेपालका राजाको भ्रमण (निजी नै भए पनि) पहिले कहिल्यै सुनिएको थिएन ।’

कौलले राजाले त्यहाँका गोर्खाबारे चासो राखेको हुनसक्ने खालेको संकेत गरेका भए पनि त्यसबारे खुलाएका भने छैनन् । उनको पुस्तकमा त्यसबहेक राजा महेन्द्रको उक्त भ्रमणबारे खासै उल्लेख छैन ।

हालै भारत सरकारले खारेज गरेको त्यहाँको संविधानको धारा ३७० अनुसार कश्मीरमा अन्यत्रका व्यक्तिहरूले अचल सम्पत्ति राख्न पाउने सुविधा थिएन । कौलले गोर्खाहरूले पनि त्यस्तो सम्पत्ति जोडेको र महेन्द्रको भ्रमणलाई जोडेर हेर्न खोजेको जस्तो देखिए पनि उनले त्यसलाई प्रस्ट पारेका छैनन् ।

जापान, अमेरिका र क्यानडाको औपचारिक भ्रमणमा गएका राजा विभिन्न देशहरू घुमेर श्रीनगर र त्यसपछि दिल्ली हुँदै नेपाल फर्केको अन्य इतिहासकारले पनि लेखेका छन् ।

भुवनलाल जोशी र लियो ई रोजले लेखेको ‘डेमक्र्याटिक इनोभेसन्स् इन नेपाल, अ केस स्टडी अफ पोलिटिकल अकल्चरेसन’ मा पनि राजा महेन्द्र उक्त भ्रमणबाट फर्कँदा श्रीनगर हुँदै नेपाल आएको उल्लेख छ ।

क्यानडाको भ्रमण सकिएपछि महेन्द्र नेपाल फर्कँदाको प्रसंग उल्लेख गर्दै उक्त पुस्तकमा लेखिएको छ (पृ. ३८२), ‘औपचारिक भ्रमण सकेर राजा महेन्द्र नेपालका लागि जुन १६ मा प्रस्थान गरे । लिस्बन, प्यारिस, फ्रर्यांकफर्ट, भियना, तेहरान, काबुल, श्रीनगर र दिल्ली हुँदै उनी जुलाई २८ मा काठमाण्डू आइपुगे ।’

हालै प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्र’ का लेखक तथा पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई पनि आफू कूटनीतिक सेवामा रहँदा राजा महेन्द्रको श्रीनगर भ्रमणबारे सुनेको बताउँछन् ।

‘मसँग पनि भारतका तत्कालीन शिष्टाचार महापालले महेन्द्रलाई कश्मीर भ्रमण गराएको बताएका थिए,’ उनले भने, ‘उनी पछि त्यहाँको विदेश मन्त्रालयमा उच्च पदमा पनि पुगेका र राजदूत पनि भएका थिए, तर उनको नाम चाहिँ अहिले सम्झना भएन ।’

भट्टराईका अनुसार त्यस बेला राष्ट्रप्रमुखका भ्रमणहरू लामा हुने गरेका थिए । त्यसै क्रममा राजा महेन्द्र पनि औपचारिक भ्रमणबाट फर्कदा श्रीनगर हुँदै फर्केको र त्यहाँ निजी भ्रमणका रूपमा घुमफिर गरेको हुन सक्ने उनी बताउँछन् । आफैँले कश्मीरको भ्रमण गरेका भए पनि महेन्द्रले कश्मीरको विषयलाई लिएर भारत वा पाकिस्तानको पक्ष भने नलिएको देखिने गरेको भट्टराई बताउँछन् ।