काठमाडौं । हिन्दू धर्म विश्वको एक पुरातन धर्म हो । हिन्दु धर्म शताब्दियौंदेखि मानिसहरुको आध्यात्मिक, धार्मिक र सामाजिक प्रचलनहरुबाट विकसित भएको मनिन्छ । हिन्दू पौराणिक कथामा, भगवान ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई संरक्षक र भगवान शिवलाई विनाशकारीको रुपमा लिने गरिन्छ । त्यस्तै यी त्रिदेव र यिनका अन्य अवतार र देवीहरुलाई प्रसन्न पार्नलाई हिन्दु धर्ममा व्रत बस्ने चलन छ। त्यसैले व्रत वा उपवासको अभ्यास हिन्दू धर्मको एक प्रमुख र अभिन्न अंगको रुपमा हेर्ने गरिन्छ।

व्रतलाई संस्कृत भाषामा उपवास भनिन्छ, जसको पूरा अर्थ भगवान मन मस्तिक र हृदयको नजिक छन् भनेर बुझिन्छ । प्रायः हिन्दु श्रद्धालुहरु विशेष अवसरहरूमा जस्तै चाडहरू वा अन्य अरु पवित्र दिनहरुमा देवीदेवताहरूको सम्मान गर्दै उपवास वा व्रत बस्ने गर्दछन् । यसबेला सात्विक भोजन ग्रहण गर्ने, त्यस दिन एकचोटी मात्र भोजन गर्ने र फलफूल वा अन्य साधारण भोजनको विशेष आहारमा आफ्नो दिनलाई सीमित गर्ने गर्छन्। त्यसैगरी व्रत बस्ने वा उपवासका लागि केहि परम्परागत दिनहरू जस्तै पूर्णिमा र एकादशीलाई पनि तोकिएको छ, यी दिनमा श्रद्धालुहरुले भगवानप्रति विशेष भक्ति सेवा प्रदान गर्ने र व्रतलाई एकदम नियमका साथ पालना गर्ने गर्दछन् । यद्यपि उपवास वा व्रत भगवानका उपासनाको लागि मात्र नभएर यसले आत्म–अनुशासन र शरीर र आत्माबीचको निरपेक्ष मेलमिलाप वा सम्बन्धको सिर्जना गर्न मद्दत गर्दछ।

उपवास प्रायःजसो शरीरलाई शुद्ध गर्न, मनलाई शान्त गर्न र उच्चतम मानसिक विकाश गर्न एक साधनाको रुपमा लिने गरिएको छ, जब खाना शरीरमा हुन्छ त्यसले मनलाई असर पार्दछ , फोहोरले भरिएको शरीरले मनसम्म दुर्गन्ध फैल्याउने गर्दछ। र जब मनमा दुर्गन्ध फैलने वा नराम्रो विचारहरु आउने गर्दछ, अन्ततः शरीरमा खराब प्रभाव पर्ने गर्दछ।

मनुस्मृति जस्ता हिन्दू ग्रन्थले पुरुष र महिला दुबैलाई विशेष अवसरहरूमा उपवासको वा व्रतको अभ्यास गर्न सल्लाह दिएको छ । यसअनुसार महिलाहरूले आफ्ना पतिहरू आफूभन्दा टाढा रहँदा उपवास वा व्रत बस्न नहुने भनेर सुजाएको छ । यद्धपि, नेपाली हिन्दु समाजमा, तुलनात्मक रुपमा पुरुष भन्दा महिलाले व्रत बस्ने, पूजा गर्ने, भगवानको भक्ति भाव गर्ने गरिएको देखिन्छ । जहाँ अविवाहित महिलाहरुले असल वरको कामना गर्दै ब्रत बसेका हुन्छन् भने विवाहित महिलाहरुले आफ्नो श्रीमानको दीर्घायू, कुशल दाम्पत्य जीवनको अपेक्षा गर्दै र साथ साथै आफ्नो सन्ततिहरुको राम्रो वा भलोका निम्ति पनि ब्रत बस्ने गर्दछन् । पुरुषहरु यस्ता धार्मिक वा ब्रत बस्ने प्रक्रियामा अलि पछाडि रहेको देखिन्छ । यसबाहेक अहिलेको पुस्ताहरु त अझ आध्यात्ममाभन्दा बढी वैज्ञानिकतामा विश्वास गर्ने गर्दछन् । ब्रत बस्न चलन कहिले र कसले सुरुवात गरेको ठ्याक्कै भन्न नसकिएता पनि हिन्दु ग्रन्थहरुमा विभिन्न साधु सन्त वा ऋषिमुनि हरुले देवताहरुलाई प्रसन्न गर्न कैयौँ दिन तपस्या, ध्यान र उपवासमा बसेको पाइन्छ ।

त्यस्तै देवी पार्वतीले पनि १६ सोमबारको व्रतका थुप्रै कथाहरु सुन्न पाइन्छ। त्यसैगरी, महात्मा गान्धीले भारतीय स्वतन्त्रताको लागि २१ दिन उपवासमा रही आन्दोलन गरेका थिए । तर, किन महिलाले मात्रै ब्रत बस्ने भन्ने कुरा चाहिं खासै कतै उल्लेख नभएको तर पनि यसमा अनेकौ तर्कहरु प्रस्तुत गरिएको छ ।

पुरुष प्रधान समाजमा भएका कारण अहिले पनि महिलालाई पुरुषको दीर्घायूको लागि ब्रत बस्नु पर्ने र यो पुरानो बानी अहिले पनि यथावत रहेको देखिन्छ। त्यसैगरि अर्काथरिले विगतको समय युद्धको समय थियो, युद्धमा आफ्नो पतिको राम्रोहोस् भनि प्रार्थना गर्दै उपवासमा बसेको मान्यता छ । त्यसैगरी पुरुषहरु आफ्नी श्रीमती र परिवारको हितको लागि बढी बलिदान गर्ने परिवारको सम्पूर्ण जिम्मेवारी पतिले उठाउने भएका कारण उनीहरु व्रत वा उपवास नबसेको चर्चा पाइन्छ । तर, घरमै रहने पत्नीहरुले आफ्नो पतिको प्रगतिका लागि उपवास बसेको भन्ने विश्वास छ। तर युवा पुस्ताले परित्वर्तनलाई द्रूत रुपमा अपनाएको कारणले पुरातन आदर्शलाई पछि पार्दै आफ्नो स्वास्थका लागि दुवै महिला र पुरुषले नै व्रत बस्ने गर्दछन् ।