काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक चरित्र र व्यवहारमाथि पटक पटक प्रश्न उब्जिँदै आएको छ । आफूविरुद्ध उभिएका नेता तथा पार्टीलाई शालिन रुपमा ठिक ठाउँमा पुर्याउने र आफूनिकट भएका नेता र पार्टीविरुद्ध सार्वजनिक रुपमा खरो टिप्पणी गर्ने गरेको आरोप लाग्दै आएको छ । माओवादी युद्धताका भारत बस्दा वा भारतीय नेताहरुको संरक्षणमा रहँदा प्रचण्डले भारतविरुद्ध सुरुङ युद्ध गर्ने बताए । अन्ततः भारतको सहयोगमा भारतीय भूमिमा १२ बुँदे सहमति गर्दै आफू र आफ्नो पार्टीलाई खुला राजनीतिमा आए ।

युद्धताका र शान्ति प्रक्रियामा आएपछि पनि मुलुकको अधोगतिमा कांग्रेस र कांग्रेसका नेताहरुको हात रहेको भन्दै उग्र भाषण गरेका प्रचण्ड उनै कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको साथ लिएर शान्ति प्रक्रिया हुँदै खुला राजनीतिमा आएका हुन् । संविधान जारी भएपछि पनि कांग्रेसको सरकारमा तत्कालीन माओवादी सहभागी भएको थियो ।

यस्तै प्रचण्डले तत्कालीन एमाले र उसका नेताहरुलाई हदैसम्मको गाली गर्ने गर्थे । त्यसमाथि केपी शर्मा ओलीलाई राजनीतिक चरित्रबारे मात्रै होइन व्यक्तिगत चरित्रमाथि प्रश्न उठाएर गाली गर्न प्रचण्ड र उनको तत्कालीन पार्टी माओवादीका अन्य नेता पछि पर्दैन थे । तर, हाल उनै ओलीसँग हातेमालो गर्दै मुलुकबाट ‘माओवादी’ नाम गरेको पार्टी नै नरहने गरी पार्टी एकीकरण गरे, प्रचण्डले । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकीकरण पछि गठन गरिएको नेकपाको अध्यक्षमा ओली र प्रचण्ड छन् ।

जोसँग सम्झौता र सहमति गर्ने तयारीमा छन्, उनैविरुद्ध खरो टिप्पणी र अभिव्यक्ति दिने प्रचण्डको बानी व्यहोरेका नेपाली जनताले अहिले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धको उनको कडा अभिव्यक्तिलाई नियाली रहेका छन् । जनअपेक्षाअनुसार गणतन्त्रका सरकार र नेताहरुले काम गर्न नसकेको तथा राजनीतिप्रति जनताको वितृष्णा जागेका बेला प्रचण्डले पूर्व राजाविरुद्ध दिएको कडा अभिव्यक्तिलाई राजनीतिमा अर्थपूर्णरुपमा हेरिएको देखिएको छ ।

राप्रपाका प्रचारप्रसार विभाग प्रमुख मोहन श्रेष्ठले प्रचण्डको अभिव्यक्तिबाट पूर्वराजा ज्ञानेन्द्रसँगको उनको सम्बन्ध क्लियर हुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता श्रेष्ठले लेखेका छन्, ‘चण्डजी जोसंग सम्झौता गर्ने तयारीमा हुन्छन् उसैप्रति आक्रामक बन्ने गरेको विगत छ, जनयुद्धताका भारत विरुद्ध सुरुङ युद्ध भनेर उसैसंग सम्झौता गरेदेखि आजसम्म घरेलुु राजनीतिक शक्तिसंगको टकराव र सम्झौताको मिहिन अध्ययन गरौं। राजाबारे उहाँका पछिल्लो अभिव्यक्तिहरुबाट पिक्चर क्लियर हुनेछ।’