काठमाडौं । मृत्यु हरप्राणीमा अवश्यमभावी छ । जन्म र मृत्यु अस्वीकार्य हुँदैन । मानिस मर्नदेखि डराउँछ भनिन्छ । बालकदेखि बृद्ध उमेर समूहका मानिसले प्राण त्याग्छन् ।  यस्तै उदयपुरमा एक पुरुषले हृदयविदारक पत्र लेखेर आफ्नो प्राण त्यागेका छन् । मालपोत कार्यालय कलकीं काठमाडौंमा कार्यरत रहँदा भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्यले आफ्ना परिवारका सदस्य, आफन्त र छिमेकीसहित साथी भाइलाई सम्बोधन गर्दै  पत्र लेखेर प्राण त्यागेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको २ सय वर्ष आयूको कामना गर्दै उनले यही साउन २५ गते लेखेको पत्र  प्रहरीले फेला पारेको छ । उनी साउन २५ गते बेलुका ६ बजे पत्र लेखेर घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनीमाथि आरोप छ ।

उनले यस्तो लेखेका छन् पत्र :

सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ, प्रमुख अख्तियार आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु।

‘मैले कामगर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ । ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।

कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ । वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू।’