काठमाडौं । यतिबेला प्रधानमन्त्री केपी ओली, पूर्वराजा ज्ञानेन्द्र शाह, कांग्रेस महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य डा.शेखर कोइरालालगायत सबै विदेशमा छन् ।प्रधानमन्त्री ओली १० दिनदेखि सिंगापुरमा छन् । उनी आज (सोमबार) स्वदेश फर्कने बताइएको छ । पूर्वराजा शाह परिवारसहित थाइल्यान्डको बैंककमा छन् । उनी शुक्रबार मात्र त्यसतर्फ गएका हुन् । पत्नी कोमल, बुहारी हिमानी शाह र नातिनीसहित उनी भदौको तेस्रो सातासम्म बैंककमा रहनेछन् ।

१० दिनअघि मात्रै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित दुबई पुगेका थिए । पत्नी सीता, दुई छोरी रेणु र गंगा दाहाललाई लिएर दुबई गएका उनी पाँच दिन बसेर फर्केका हुन् ।यतिबेला नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला थाइल्यान्डमा छन् । उनी थाइल्यान्ड जानुको प्रयोजनबारे कांग्रेसले केही खुलाएको छैन् । पूर्वराजा शाह पनि उतै रहेकाले थाइल्यान्डमा केही खिचडी त पाक्दै छैन भन्ने आशंका गर्न थालिएको छ ।

पछिल्लो समय हिन्दु राष्ट्र पुनस्र्थापना हुनुपर्ने अडानमा शशांक देखिएका छन् । त्यही भएर पूर्वराजा र कोइरालाबीच भेटवार्ता हुन सक्ने बताइएको छ । कांग्रेस महामन्त्री खड्का र केन्द्रीय सदस्य डा.कोइराला भने कतार, दुबईतिरको भ्रमणमा छन् । उनीहरू नेपाली कांग्रेसको जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।