काठमाडौं । नेपालका तीव्र गतिका बलर सोमपाल कामी आबद्ध विनिङपेग हग्सले ग्लोबल टी–२० क्यनडाको उपाधि जितेको छ। उसले सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गरेको छ । २० ओभरको खेल बराबरी भएपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको भान्कुभरले ९ रन मात्र जोड्न सक्यो। जुन लक्ष्य विनिङपेगले ४ बलमै पूरा गरेर उपाधि जित्न सफल भयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको विनिङपेगले ८ विकेटको क्षतिमा १९२ रन जोड्यो। उसका लगि शैमान अनवारले ९० रनको योगदान दिए। जवाफी ब्याटिङ गरेको भान्कुभरले पनि ६ विकेटको क्षतिमा १९२ रननै जोड्यो। उसका लगि आन्द्रे रशेलले २० बलमा ४६ रन र सोएब बलिङले ३६ बलमा ६४ रन जोडे।

सोमपालले एक खेलमा मात्र मौका पाउन सके। समूह चरणमा सोमपालले एडमन्टन रोयल्यविरुद्ध २ ओभर बलिङ गर्दा ३३ रन दिएका थिए। एक खेलमा मात्र मौका पाएका सोमपाल विदेशी फ्रेन्चाइज क्रिकेट लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।