काठमाडौं । आज श्रावण महिनाको अन्तिम सोमबार । यो साउनमा चारवटा मात्रै सोमबार परेको छ । अन्तिम सोमबार भएकाले महिला भक्तजन तथा बोलबम तीर्थयात्रीको पशुपतिनाथलगायत देशभरका शिवालयमा घुइँचो लागेको छ ।

वेद र पुराणमा उल्लेखित पौराणिक कथा अनुसार साउनको पवित्र महिना सफलता, विवाह र समृद्धिका लागि भगवान शिवको पूजा वा आराधना गरी समर्पित गरिन्छ ।

साउन महिनामा भगवान शिव स्वयं धर्तीमा आउने भएका कारण यो महिनाभरि उनै शिवलाई खुसी पार्न हिन्दू धर्मालम्बीहरु व्रत बस्ने र तीर्थाटन गर्ने गर्छन् । भगवान शिवलाई खुसी पार्न महिलाहरु साउनको हरेक सोमबार व्रत बस्ने पनि गर्छन् । यस दिन विवाहित महिलाले रातो, हरियो, पहेंलो वस्त्र धारण गर्छन् भने अविवाहित नारीले हरियो र पहेंलो वस्त्र धारण गरी व्रत बस्ने गर्छन् ।

हिन्दु धर्मअनुसार यो महिनाभरि भगवान शिवको भक्ति गर्नेहरु र व्रत बस्नेहरुलाई फलदायी हुन्छ । शास्त्रमा शिवलिंगको पूजा गर्ने विधिबारे विभिन्न तरिका पनि अपनाइएको छ । हरेक सोमबार शिवलाई पूजा गर्न केही महत्वपूर्ण कुराहरु जान्नुपर्ने हुन्छ । साउन महिनामाको सोमबार व्रत बस्दा जीवनमा समृद्धि छाउने साथै परिवारमा खुसी र कामना गरिएका इच्छा पूरा हुने धार्मिक विश्वास छ ।