काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकरिद आज विश्वभर धुमधामका साथ मनाइँदै छ । बकरिद रमजान अर्थात् इद उल फित्रपछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो ।

मुस्लिम समुदायले इदको अवसरमा प्रदेश २ र ५ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, प्रधानमन्त्री विदेशमा भएकाले केन्द्र सरकारले भने सार्वजनिक बिदा दिएन ।

बकरिदको अवसरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् ।

रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन छ । बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । बकरिद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् ।