काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको भाउ स्थिर देखिएको छ । शुक्रबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

केही दिनयता निरन्तर बढिरहेको सुनको भाउ गत साताको बुधबार एकैचाटी १५ सय रुपैयाँले बढेको थियो । बिहीबार तोलाको पाँच सय रुपैयाँ बढेर ७० हजार पुगेको हो । तर, चार दिनदेखि मूल्यमा एकै विन्दुमा कायम छ ।

अन्तर्राष्ट्रियस्तरमा सुनको मूल्य नबढे पनि नेपालमा भने एकै हप्तामा पाँच हजारले बढेर कीर्तिमान राखेको छ । यता, चाँदीको भाउ पनि स्थिर देखिएको छ । आइतबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।