एजेन्सी । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । शनिबार राति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो ।

निर्वाचनमा लज्जास्पद पराजयपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयसम्म स्वीकृत भएको थिएन । राहुललाई पटक पटक राजीनामा फिर्ता लिन आग्रह गरिँदै आएको थियो । तर, उनले मानेनन् ।

यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ देखि २०१७ सम्म कांग्रेसको नेतृत्व गरेकी थिइन । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो ।

कंग्रेसलाई जसैगरी पनि १५ तारिख अगाडि नयाँ अध्यक्ष घोषणा गर्नुपर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १५ अगस्टमा अध्यक्षका हैसियतले पार्टी कार्यालयमा झण्डोत्तलोन गर्ने चलन छ ।

पुनः गान्धी परिवारमै कांग्रेसको नेतृत्व पुगेपछि भारतका विभिन्न दलले व्यंग्य गरेका छन् । गान्धी परिवारबाहेक अहिलेसम्म अरु कोही पनि नेतृत्व लिन सक्ने नेता जन्मन नसकेको उनीहरूले टिप्पणी गरेका छन् ।