काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । निजी भ्रमणका क्रममा पूर्वराजा शाह शुक्रबार दिउँसो बैंकक प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रलाई विदाइ गर्न केही राजावादीहरु पुगेका थिए । त्यस मध्ये एकले पशुपतिनाथको चन्दन लगेका थिए । उनले पूर्वराजा ज्ञानेन्द्रलाई दिएर भने, सबै सरकारलाई हो ।’ त्यसपछि पूर्वराजा ज्ञानेन्द्रले पनि तत्कालै सो चन्दन आफ्नो निधारमा लगाए। शुभचिन्तकले शुभयात्रा भनेपछि पूर्व राजा ज्ञानेन्द्रले भने, केही दिनमा आउँछु ।’ पूर्वराजा ज्ञानेन्द्रले आफ्नो अत्यन्तै निजी भ्रमण भएको प्रतिक्रिया दिएका छन् ।

पारिवारिक भ्रमणका क्रममा पूर्व राजा तीन साता थाइल्याण्डमा रहने उनको नीजि सचिवालयले जानकारी दिएको छ । केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने बताइएको छ ।पूर्वयुवराज्ञी हिमानी शाह बुधबार नै दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी थिइन् । पूर्वराजाको परिवार दसैंको केहीदिन अघिमात्रै स्वदेश फर्कने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्याण्ड गएका थिए ।